काठमाडौं । एमसीए नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको चार सय केभी विद्युत् प्रसारण लाइनका लागि विस्तृत खरिद प्रस्ताव आह्वान गरेको छ ।
एमसीए नेपालले आज सूचना जारी गरी प्लान्ट डिजाइन, आपूर्ति, वितरण, स्थापना र परीक्षणका लागि खरिद प्रस्ताव आह्वान गरेको हो ।
पहिले गरिएको बोलपत्रमा लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको थियो । त्यसैले प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गरिएको हो ।
एमसीए नेपालले ३१५ किलोमिटर लामो प्रसारणलाइन परियोजनालाई तीन भागमा बाँडेर निर्माण प्रक्रिया अघि बढाउँदै छ ।
प्रसारणलाइनको पहिलो लटमा लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा खण्ड पर्छ । दोस्रो लटमा रातमाटे–न्यू दमौली खण्ड र तेस्रो लटअन्तर्गत न्यू दमौली–न्यू बुटवल–भारतको सीमासम्म तोकिएको छ ।
लप्सीफेदी रातमाटे नयाँ हेटौंडा, रातमाटे – नयाँ दमौली र नयाँ दमौली नयाँ बुटवल गरी तीन वटा खण्डमा विभाजन गरिएको उक्त प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ साल माघ १७ गते तोकिएको छ ।
अघिल्लो बोलपत्र आह्वान प्रक्रियाको विस्तृत समीक्षापछि पुनः आह्वान गरिएको यस बोलपत्रमा परिमार्जित डिजाइन, टावर निर्माण स्थलमा सहज पहुँच र बोलपत्रदाताहरूको सुझावका आधारमा संशोधित व्यावसायिक प्रावधानहरू समेटिएको छ । यी समायोजनले थप कार्यान्वयनयोग्य र लागत- प्रभावकारी प्रस्तावहरू प्राप्त हुने सुनिश्चित गर्दै अघिल्लो बोलपत्र आह्वानमा पहिचान गरिएका मुख्य लागत निर्धारकहरूलाई सम्बोधन गरेका छन् ।
एमसिए-नेपालले बुटवल- गोरखपुर प्रसारण लाइन अन्तर्गत नेपालमा पर्ने १८ किमि प्रसारण लाइन निर्माणका लागि १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग २०८१ साल भदौ १४ गते गरिसकेको छ । उक्त प्रसारण लाइन २१ महिनाको अवधिमा निर्माण गरिनेछ ।
एमसिए-नेपालका कार्यकारी निर्देशक श्री खड्ग बहादुर विष्टले भने, “निर्माणाधीन प्रसारण लाइनमध्ये १८ किमि खण्डको निर्माणका लागि सम्झौता सम्पन्न भइसकेको वर्तमान अवस्थामा परिमार्जित प्रावधानहरूका कारण बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि बोलपत्रदाताहरूको अभिरुचि उल्लेख्य रूपमा बढ्ने र प्रतिस्पर्द्धात्मक बोलपत्रहरू आकर्षित हुने कुरामा हामी विश्वस्त छौं ।”
गएको वर्ष उल्लेख्य प्रगति हासिल गरेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमका सन्दर्भमा यो बोलपत्र पुनःआह्वान अर्को उपलब्धि हो । तीन वटा ४०० केभी सबस्टेशन र १८ किमि प्रसारण लाइन निर्माण कार्यमा निर्माण कम्पनीहरू परिचालन गरिसकेको एमसिए-नेपाल नेपालको ऊर्जा पूर्वाधारलाई थप सशक्त बनाउनका लागि बाँकी प्रसारण लाइन खण्डको निर्माण पनि सम्पन्न गर्ने सही मार्ग रहेको स्पष्ट भएको बताइएको छ ।