बागलुङ : बागलुङमा विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका-७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने रोल्पा सुनिल स्मृति गाउँपालिका-५ गजुल घर भएका २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानकै ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको सोमबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
यसै गरी विषाक्त मदिराबाट अन्य दुईजना गम्भीर घाइते भएका छन् । दुबै जनाकाे उपचार भइरहेकाे छ । मदिरा सेवनपछि गम्भीर बिरामी भएपछि इलाका प्रहरी कार्यालय गलकोट र प्रहरी चौकी हटियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उपचारका लागि अस्पताल पुर्याएकाे थियो । उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गलकोट नगरपालिका ७ निवासी भद्र बहादुर थापाको किराना पसलबाट उनीहरूले मदिरा, चाउचाउ लगायतका सामान किनेका थिए । प्रहरीले भद्र थापा र मदिरा उत्पादन गर्नेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।