कोरोनाबाट सदस्य गुमाएका परिवारलाई वडाको २० हजार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोनाबाट सदस्य गुमाएका परिवारलाई वडाको २० हजार

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०७८, बिहीबार

    दुलेगौडा : यहाँको एक वडाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको दोस्रो लहरले ज्यान गुमाएका परिवारलाई २० हजार रुपैयाँका दरले राहत वितरण गरेको छ । शुक्लागण्डकी नगरपालिका–८ मा वडाका जनप्रतिनिधिको अध्ययन अवलोकन भ्रमण शीर्षकमा छुट्याईएको रकमबाट कोरोनाले मृत्यु भएका परिवारका सदस्यलाई वितरण गरेको हो ।

    यो वडामा १० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका थिए । मृतक परिवारको सदस्यको शिक्षा दिक्षामा खर्चने गरी उक्त रकम दिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए । सबैलाई बैंक खातामार्फत रकम पठाएको उनले जानकारी दिए । ‘कोरोना कहरले जनतालाई आक्रन्त बनाईरहेको बेला अध्ययन भ्रमणमा जानु उचित ठानेनौँ । थोरै भएपनि राहत हुने भएकाले कोरोनाले सदस्य गुमाएका परिवारको राहतमा खर्चियौँ’, उनले भने । अनुगमन अध्ययन भ्रमण शिर्षकमा वडाले १ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । पशुधन सुरक्षणमा शिर्षकबाट बचत भएको ५० हजार रुपैयाँ गरी २ लाख रुपैयाँ वितरण गरिएको हो ।

    कोरोना नियन्त्रणमा यहाँका जनप्रतिनिधिले जनताको मन जितेका थिए । यहाँका जनप्रतिनिधि कोरोना संक्रमितको आत्मबल बढाउन घर–घरै पुग्ने गरेका थिए । जनप्रतिनिधी र स्वास्थ्यकर्मीको टोली पुगेर स्वास्थ्य सामाग्री र पौष्टिक आहार बाँड्ने गरिएको थियो । स्वास्थ्यकर्मीको स्वयंसेवी समुह गठन गरेर संक्रमितको हेरचाहमा खटाईएको थियोे ।