दमाैली : तनहुँको व्यास नगरपालिकाले एक वर्षको अवधिमा एक हजार दुई सय ४५ योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७७÷७८ मा उपभोक्ता समिति र टेण्डर मार्फत् उक्त योजना सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
उपभोक्ता समिति मार्फत् एक हजार दुई सय तीन योजना सम्पन्न भएका छन् । टेण्डर प्रकृयामार्फत् ७३ योजना सञ्चालन गरिएकामा ४२ योजना सम्पन्न भएका छन् । बाँकी योजना कोभिड तथा विपद्का कारण सम्पन्न हुन नसकेको व्यास नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । “कोभिड सङ्क्रमणका कारण केही समय काम पनि रोकियो, विपद्ले पनि काममा असर प¥यो,” उनले भने, “३१ योजना अधुरा छन् ।”
बिहीबार सम्पन्न नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रभित्र बाढीले पु¥याएको क्षति पुनस्र्थापना गर्न आफैले जाली बुन्ने कार्यमा पूर्वाधार तथा योजना शाखालाई जिम्मा दिने निर्णय गरेको छ । नगरपालिकाले नगरप्रमुखको अध्यक्षतामा नगरस्तरीय र वडाध्यक्षको वडाध्यक्षमा वडा विपद् व्यवस्थापन समिति संशोधित ऐन अनुसार पुर्नगठन गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी व्यास नगरपालिका साविक स्थानीय निकायका कर्मचारीहरुको समायोजन तथा स्तरवृद्धि गरिएकामा बैठकबाट अनुमोदन गर्ने निर्णय भएको छ । नगरपालिकाले व्यास–१० दुम्सी आधारभूत स्वास्थ्य केन्द्रमा २५ शय्याको नगर कोभिड अस्पताल व्यवस्थापन गर्न वडाध्यक्ष तुलसीराम सापकोटाको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको छ । साथै सोही अस्पतालमा पिसिआर प्रयोगशाला समेतलाई आवश्यक जनशक्ति करार सेवामा लिन प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा छनौट समिति गठन गरिएको छ ।
व्यास–७ शेषमटारमा व्यास नगर समता विद्यालय सञ्चालन गर्न सम्बन्धित वडा अध्यक्ष शतिषचन्द्र न्यौपानेको अध्यक्षतामा पाँच सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ भने कर्मचारी समायोजन एवं स्तरवृद्धि पछि नगरपालिका संगठन संरचनामा संशोधन गर्नुपर्ने भई विशेष नगर सभा बस्नुपर्ने भएकाले संशोधन प्रस्ताव १५ दिन भित्र पेश गर्न उपप्रमुख मीरा जोशीको संयोजकत्वमा प्रस्ताव समिति गठन गरिएको छ ।