पोखरा : गण्डकी प्रदेशको गठबन्धन सरकारमा माओवादी केन्द्रबाट तीन जना सरकारमा जाने भएका छन् । माओवादी सांसदहरू रामजी बराल, चन्द्र बहादुर बुढा र दीपक चर्ती सरकारमा जाने निश्चित भएको हो ।
उनीहरूमध्ये अर्थ रामजी बराल, वन तथा वातावरण मन्त्रालय दीपक चर्ती र कृषि मन्त्रालय बुढाले सम्हाल्ने छन । उनीहरूको शपथ शुक्रबार दिउँसो १ बजेका लागि तय भएको छ ।
माओवादीका सांसद दीपक कोइरालाका अनुसार बिहीबार बसेको कांग्रेस र माओवादी केन्द्रबीचको बैठकले माओवादीबाट सरकारमा जाने सांसदको टुंगो लागेको हो ।
माओवादी केन्द्रबाट यसअघि नै मधुमाया अधिकारी गुरुङ मन्त्री बनिसकेकी छन् । उनले अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेकी छन् ।
मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाका अनुसार कांग्रेसबाट मन्त्री बन्नेको टुंगो पनि आजै लाग्नेछ ।
गण्डकीमा गत जेठ २९ गते गठबन्धनको सरकार बनेको थियो । कांग्रेस नेतृत्वमा सरकार बनेपनि दलीय खिचातानी र मन्त्रालयको बाँडफाँडमा सहमति नजुट्दा सरकार बनेको डेढ महिनापछि मात्र मन्त्रीको टुंगो लागेको हो ।
अहिले गण्डकीमा कुमार खड्काले शिक्षा विज्ञान तथा प्रविधि र सामाजिक विकास, जसपाका हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ र दीपक मनाङेले युवा तथा खेलकुद मन्त्रालय सम्हालिरहेका छन् । अब कांग्रेसले मन्त्री बन्नेको नाम टुंगो लगाएपछि गण्डकी सरकारले पूर्णता पाउनेछ ।
कांग्रेसले कानुन, सञ्चार तथा प्रदेश सभा मामिला, पर्यटन उद्याेग, वाणिज्य तथा आपूर्ती र भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था र वन, वातावरण तथा भू संरक्षण मन्त्रालय पाउने भएकाे छ ।
मन्त्रिपरिषद् पूर्णता सँगै मन्त्रालय हेरेफेर पनि हुने भएको छ । कांग्रेसका कुमार खड्काले सम्हालेको शिक्षा विज्ञान तथा प्रविधि र सामजिक विकास मन्त्रालय कांग्रेसले नै पाउनेछ । तर, खड्काले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउने छन् ।