पशुसेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    पशुसेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०७८, शनिबार

    बन्दिपुर : कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको लगानीमा तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा निर्माण सम्पन्न भएको अत्याधुनिक पशु सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

    गत भदौदेखि निर्माण शुरु भएर चैतमा निर्माण सम्पन्न भएको पशुसेवा केन्द्रको भवनको स्वामित्व गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । नेपाल लाइभस्टक सेक्टर इनोभेसेन आयोजनाका वरिष्ठ योजना अधिकृत विश्वनाथ गौतमले शनिबार गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापालाई उक्त भवन हस्तान्तरण गर्नुभएको छ ।

    भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाभित्रका पशुपालक कृषकले अब पशुको उपचार यहीबाटै गर्न पाउने बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले बताउनुभयो । हाल गाउँपालिकाको प्रशासकीय भवनमा सञ्चालित पशु सेवा शाखा नै अब यो भवनमा स्थानान्तरण गरिनेछ ।

    यसमा डाक्टर सहितको दरवन्दी हुनेछ । यो भवनमा प्रयोगशाला समेत सञ्चालन हुनेछ । प्रयोगशालाका लागि आवश्यक उपकरण नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले सहयोग गर्ने भएको छ ।

    यो भवनबाट पशुपालक कृषकले भदौ पहिलो हप्तादेखि सेवा पाउनेछन् । “दरवन्दी अभाव छ, दरवन्दी पूर्ति गरेर उपकरण आउने बित्तिकै सेवा शुरु गर्ने तयारी छ,” उहाँले भन्नुभयो, “पशुको उपचार गर्नुप¥यो भने दमौली जाने बाध्यताको अब अन्त्य हुन्छ ।”

    उक्त भवनमा ६ कोठाका साथै शल्यक्रिया कक्ष र डिस्पोजल कक्ष रहेको छ । बन्दीपुर गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएकाले पशुको उपचारका लागि पशुसेवा केन्द्र अति आवश्यकता थियो । भवन निर्माणका लागि सोही ठाउँ निवासी छलिमाया श्रेष्ठले रु एक रोपनी जग्गा गाउँपालिकालाई दान गर्नुभएको थियो ।

    यो वडालाई बाख्रा पकेट क्षेत्रको रुपमा विकास गरिएको छ । मासुमा आत्मनिभर बनाउने उद्देश्यसहित बाख्रा पकेट क्षेत्रको रुपमा अगाडी बढाइएको वडाध्यक्ष पोख्रेलले बताउनुभयो । यसका लागि वडाले बाख्रापालक कृषकलाई सहयोग गर्दै आइरहेको छ ।

    “बाख्रा पकेट क्षेत्रको रुपमा विकास गर्न बाख्रापालक कृषकहरुलाई प्राविधिक तालिम, घाँसको बिरुवा र खोर सुधारका लागि वडाले सहयोग गर्दै आएको छ,” पोख्रेलले भन्नुभयो, “व्यावसायिक रुपमा बाख्रापालनतर्फ कृषक आकर्षित भइरहेका छन् ।”

    बाख्राको नश्ल सुधार गरी कम्तीमा पाँच वर्षमा वडालाई बोयर तथा स्थानीय खरी जातका बाख्राको स्रोतकेन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । यस वडामा एक हजारको सङ्ख्यामा बाख्रापालन गरिएको छ ।