आँबुखैरेनी : अल स्टार फुटबल क्लब आँबुखैरेनी तनहुँका स्ट्राइकर सन्त बहादुर गुरुङ(कान्छा) जावलाखेल युथ क्लबमा अनुबन्ध भएका छन् । विभिन्न स्थानमा हुने प्रतियोगितामा अल स्टार क्लबबाट उत्कृष्ट खेल प्रदशन गर्दै आएका २३ वर्षीय गुरुङ ए डिभिजन क्लब जावलाखेल युथमा अनुबन्ध भएको क्लबका उपाध्यक्ष सुशील पाण्डेले जानकारी दिए ।
अल स्टार क्लबले गुरुङको लागि केही गर्न नसकेपनि आफ्नै मिहीनेत र लगनशीलका कारण राष्ट्रिय क्लवमा अनुबन्ध हुँदा आँबुखैरेनीको मात्र नभई समग्र तनहुँ जिल्लाकै लागि गौरवको कुरा भएको पाण्डेले बताए ।
१४ वर्षको उमेरदेखि अल स्टार क्लबबाट खेल खेल्दै थुप्रै उपाधि जिताउँदै आएका गुरुङले यस भन्दा पहिला बि डिभिजनको च्यासल युथ क्लबबाट फुटबल खेलिसकेका छन् । पछिल्लो समयमा जिल्लाका विभिन्न क्लबबाट राष्ट्रिय स्तरको फुटबल क्लबमा अनुबन्ध भएका खेलाडीहरुलाई जिल्ला फुटबल संघले अहिलेसम्म कुनै पनि हौसला, सम्मान एवम् आवश्यक तालिमको व्यवस्था नगरेको गुनासो क्लब र खेलाडीबाट सुनिदै आएको छ ।