मिनीग्रेटवालमा बन्दीपुरको कार्यपालिका बैठक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • पर्यटन

    मिनीग्रेटवालमा बन्दीपुरको कार्यपालिका बैठक

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०७८, बिहीबार

    बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन मिनीग्रेटवालको प्रचारप्रसार गर्ने उद्देश्यले गाउँपालिकाको बैठक सोही ठाउँमा बस्ने भएको छ । मणिमुकुन्देश्वरी पर्खाल (मिनीग्रेटवाल) को प्रचारप्रसार गर्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित गाउँपालिकाको ८९ औं कार्यपालिका बैठक थानीमाई मन्दिर परिसरमा शुक्रबार बस्न लागेको हो ।

    यस ठाउँलाई पर्यटनको गन्तव्य बनाउने उद्देश्य सहित कार्यपालिका बैठक आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए । “चीनको ग्रेटवालको झल्को दिने गरी मिनीग्रेटवाल निर्माण भइरहेको छ, यस ठाउँलाई थप प्रचारप्रसार गर्न आवश्यक छ,” उनले भने, “कार्यपालिका बैठकले यस ठाउँको विकासका लागि पनि केही निर्णय गर्नेछ ।”

    गाउँपालिकाले यसअगाडी सिद्धगुफाभित्र कार्यपालिका बैठक आयाेजना गरेकाे छ । बन्दीपुर-४ मा अवस्थित उक्त गुफा दक्षिण एशियामै ठूलाे दावी गरिएकाे गुफा हाे ।

    पर्यटकीय हबका रुपमा परिचित गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा मिनी ग्रेटवाललाई डेढ करोड बजेट विनियोजन गरिएको छ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिन्छ । नयाँ नयाँ गन्तव्य बनाउने लक्ष्यसहित शुरु भएको ग्रेटवाललाई पर्यटकीय हबको रुपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

    गत वर्षदेखि निर्माण शुरु भएको मिनी ग्रेटवाल निर्माण नसकिदै पर्यटकको रोजाइमा पर्न थालेको छ । बन्दीपुर घुम्न आएका सबैजसोले उक्त ठाउँको बारेमा चासो लिने गरेका छन् । “बन्दीपुरमा नयाँ–नयाँ पूर्वाधार थप गर्ने उद्देश्य बमोजिम मिनी ग्रेटवाल निर्माण थालेका हौ, मिनी ग्रेटवाल निर्माणका लागि सङ्घ सरकारले पनि यो वर्ष बजेट सहयोग गरेको छ,” उनले भने ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।