एजेन्सी : फ्रेन्च लिग वानमा आइतबार राति पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रासको सामना गर्दैछ । लिगमा शीर्षस्थानमा रहेको पीएसजी १२ औँ स्थानमा रहेको राससँग भिड्दा लियोनल मेस्सीले आफ्नो नयाँ टिमका लागि डेब्यु गर्ने सम्भावना छ ।
रासको रंगशालमा हुने खेलका लागि पीएसजीले आफ्नो टिमको घोषणा गरेको छ । जसमा २२ खेलाडी सम्मिलित छन् । मेस्सी पनि टिममा परेका छन् । गत अगस्ट १० बाट पीएसजीसँग आबद्ध भएका मेस्सीले नयाँ लिगमा खेल्न बाँकी नै छ ।
मेस्सीसँगै किलियान एमबाप्पे पनि रासको भ्रमण गर्ने पीएसजीको टिममा परेका छन् । विगत केही समय देखि रियल म्याड्रिडसँग जोडिएका एमबाप्पे, मेस्सी र नेयमारसँगै खेलेको हेर्न पीएसजी समर्थक आतुर छन् ।
यस सिजन पीएसजी लिगमा अपराजित छ । तीन खेल खेल्दा पीएसजीले नौ अंक बटुलेको छ । दोस्रो स्थानमा भने निस छ । गत सिजन लिलाई फेन्च च्याम्पियन बनाएका क्रिस्टोफ गाल्टियरको नेतृत्वमा रहेको निसले तीन खेलमा सात अंक बनाएको छ ।