एजेन्सी : स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा गेटाफेमाथि २-१ को जित दर्ता गरेको छ ।
खेलको दोस्रो मिनेटमा नै बार्सिलोनाले सर्जी रोबर्टोको पासमा गोल गरेका थिए । उनले जोर्डी अल्बाको क्रसलाई पेनाल्टी क्षेत्र भित्रबाट गोलमा परिणत गरेका थिए । तर १८ औं मिनेटमा पाहुना टोलीले गोल फर्कायो । बार्सिलोनाकै पूर्व खेलादो कार्लेस अलेनाको पासमा सान्ड्रो रामिरेजले गोल गर्दै खेल बराबरीमा ल्याए ।
३० औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै बार्सिलोनाको अग्रता पुन: स्थापना गरे । उनले फ्रेंकी डे जोङको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट मुभ बनाउँदै गोल गरेका थिए । पहिलो हाफको अन्त्यतिर बार्सिलोनाले आक्रमणमा दबाब बनाएपनि अग्रता बढाउन सकेन ।
दोस्रो हाफको ८२ औं मिनेटमा अल्बाको क्रसमा बुस्केट्सले गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले त्यसलाई अफसाइड दिएका थिए । खेलको ४ मिनेट समय बाँकी रहँदा गेटाफेले बराबरी गर्ने अवसर पाएपनि त्यसमा अकुर्गु चुकेका थिए ।
यस जितसँगै बार्सिलोनाको ३ खेलमा ७ अंक पुगेको छ । गोलअन्तरको आधारमा चौथो स्थानमा रहेपनि बार्सिलोनाले शीर्षस्थानमा रहेको रियल म्याड्रिड, सेभिया र भ्यालेन्सियासँग अंक बराबर गरेको छ । मालोर्काको पनि ७ अंक छ ।