एजेन्सी : पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सेली लिग वानमा जित निकालेको छ । लियोनल मेस्सीको डेब्यू खेलमा पीएसजीले जित निकालेको हो ।
आइतबार राति भएको खेलमा पीएसजीले रेइम्सलाई २–० गोल अन्तरले हराएको हो । अर्जेन्टिनी स्टार खेलाडी मेस्सीले पीएसजीका लागि डेब्यू गरेका छन् ।
उनी खेलको ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए । पीएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे ।
खेलको १६ औं मिनेटमा एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए । उनले एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।
६३ औं मिनेटमा एम्बाप्पले दोस्रो गोल गरे । हाकिमीको पासमा गोल गरेका हुन् । जितसहित पीएसजीले ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।
रेइम्स मात्र ३ अंकसहित रेलिगेशन जोनभन्दा एक स्थानमाथि छ ।