तनहुँ : नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत तनहुँमा हुने वडा अधिवेशनका लागि भोलि शुक्रबार ८५ वटै वडामा मतदाता नामावली प्रकाशन हुने भएको छ । वडा अधिवेशन सम्पन्न गर्नका लागि सबै वडामा निर्वाचन प्रतिनिधि खटाएर पठाइएको छ।
दश वटै स्थानीय तहका ८५ वडामा शुक्रबार बिहान ९ बजे मतदाता नामावली प्रकाशन हुनेछ । आज नै १० बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ताको समेत कार्यक्रम रहेको छ । ११:३० बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेस तनहुँले जनाएको छ।
त्यस्तै उम्मेदवारी उपर दावी विरोध १२ बजे, दावी विरोध उपर छानबिन १२:१५ सम्म, दावी विरोध उपर छानबिन पश्चात् उम्मेदवारको नामावली प्रकाशन १२:३० बजे, उम्मेदवारी फिर्ता १२:३० देखि १:३० सम्म र अन्तिम नामावली प्रकाशन १:४५ मा हुनेछ । २:३० देखि ४ बजेसम्म मतदानको समय तोकिएको छ।