दमाैली : गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधु अधिकारीले सरकारी कार्यालयले जनतालाई सहज रुपमा सेवा दिनुपर्नेमा जोड दिएकी छन् । स्वास्थ्य कार्यालय तनहुँको बिहीबार निरीक्षणपछि सम्बोधन गर्दै मन्त्री अधिकारीले सरकारी सेवा लिनका लागि जनतालाई दुःख हुन नहुने बताइन् ।
कोरोना महामारी नियन्त्रण र उपचारमा स्वास्थ्य कार्यालयले सबै स्थानीय तहसँग समन्वय गरेर काम गर्नुपर्नेमा मन्त्री अधिकारीले कर्मचारीलाई निर्देशन दिइन् । स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि प्रदेश सरकारले ठूलो रकम लगानी गरेको मन्त्री अधिकारीको भनाई थियो ।
सोक्रममा स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले कार्यालयले गरिरहेका कामको बारेमा मन्त्री अधिकारीलाई जानकारी गराएका थिए । निरीक्षणमा गण्डकी प्रदेश सभा सदस्य डोवाटे विक, स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्का लगायतको उपस्थिति थियो ।