भगवतीपानीको विकासका लागि गुरुयोजना आवश्यक : श्रममन्त्री श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भगवतीपानीको विकासका लागि गुरुयोजना आवश्यक : श्रममन्त्री श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २७ आश्विन २०७८, बिहीबार

    दमाैली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ऐतिहासिक भगवतीपानी मन्दिरको विकासका लागि गुरुयोजना आवश्यक रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–११ स्थित भगवतीपानी मन्दिरको बिहीबार दर्शनपछि मन्त्री श्रेष्ठले यस ठाउँलाई धार्मिक पर्यटकीय स्थल बनाउन तत्कालै गुरुयोजना निर्माणका लागि संरक्षण समितिलाई आग्रह गरे ।

    सदरमुकाम दमौलीबाट नजिकै रहेर पनि यस ठाउँ ओझेलमा परेको भन्दै मन्त्री श्रेष्ठले यसको विकासका लागि सबै लाग्नुपर्नेमा जोड दिए । “यस ठाउँको विकासका लागि छिटो गुरुयोजना बनाउनुस्, बजेट विनियोजनका लागि मेरो तर्फबाट सहयोग रहनेछ,” मन्त्री श्रेष्ठले भने। दसैं लगत्तै पुरातत्व विभागको टोलीलाई यस ठाउँको अध्ययनका लागि पठाउने मन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे ।

    प्रत्येक दसैंमा आफू यस ठाउँमा दर्शनका लागि आउने गरेको भन्दै मन्त्री श्रेष्ठले भने, “भगवतीपानीको आर्शीवादको कारण आज मन्त्री हुन सफल भएको छु, यस ठाउँको विकासका लागि सदैव लाग्छु ।”

    सो क्रममा भगवतीपानी देवस्थल संरक्षण समितिका सचिव श्यामकुमार श्रेष्ठले मन्दिर पुनर्निर्माणका लागि बजेट विनियोजन गरिदिन मन्त्री श्रेष्ठसमक्ष आग्रह गरे। तीन सय वर्ष पुरानो यस मन्दिरमा भाकल गरेपछि मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ सयौ भक्तजन यहाँ आउने गरेको उनले जानकारी दिए ।

    यसैगरी मन्त्री श्रेष्ठले बिहीबार नै व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका मन्दिरको पनि दर्शन गरे। कालिका मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन विगतदेखि नै आफू लागिपरेको बताउँदै उनले भने, “यस ठाउँमा अझै पनि केही पूर्वाधार बनाउनुपर्नेछ, त्यसका लागि सहयोग गर्छु ।”