दमाैली : कोरोना कहरका कारण सुस्ताएको तनहुँको पर्यटन पुनः पुरानै लयमा फर्किन थालेको छ । लामो समय कोरोना सङ्क्रमणका कारण सुस्ताएको जिल्लाको पर्यटनले गति लिन थालेको हो ।
कोरोना सङ्क्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्न थालेपछि जिल्लाका पर्यटकीय स्थानमा पर्यटकको चहलपहल वृद्धि हुन थालेको छ । कोरोना कहरका कारण सुस्ताएको तनहुँको पर्यटन पुरानै लयमा फर्किन थालेपछि व्यवसायी पनि आशावादी बनेका छन् ।
बिहानको सूर्योदयसँगै कुहिरोले ढाकिएको दृश्य हेर्न यतिबेला आन्तरिक पर्यटक व्यास नगरपालिका–५ मानुङकोट उक्लिरहेका छन् । पछिल्लो केही दिन यता दैनिक सयौको सङ्ख्यामा पर्यटक मानुङकोट पुग्ने गरेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए। “बिहानको सूर्योदय र कुहिरोले ढाकिएको दमौलीको दृश्य अवलोकनका दिउँसोको समयमा हिमश्रृङ्खला हेर्न पर्यटकको आगमन बढेको छ,” उनले भने ।
मानुङकोटमा गत वर्षदेखि आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको हो । गत वर्षको कात्तिकमा एकैदिन दश हजारभन्दा बढी पर्यटक मानुङकोट पुगेका थिए । दमौली बजारले कुहिरोको घुम्टो ओढेर सुर्य उदाँउदाको दृश्य हेर्न लालायित आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेका छन् । “अहिले दसैंपछि मानुङकोटमा पर्यटकको चहलपहल बढेको छ,” स्थानीय व्यवसायी रेवती आलेले भनिन्, “पर्यटक बढेसँगै व्यवसाय पनि बढेको छ ।” मानुङकोटमा आन्तरिक पर्यटकको चाप बढ्न थालेपछि गत वर्षदेखि स्थानीयवासीले प्रत्येक घरमा होटल खोलिसकेका छन् ।
मानुङकोटकाट आँखै अगाडी पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । साथै यहाँबाट दमौली बजार लगायत आसपासका क्षेत्र छर्लङ्ग देखिन्छ । मानुङकोट जाने बाटो कालोपत्रे समेत सुरु भइसकेको छ । केही ठाउँमा कालोपत्रे सम्पन्न भइसकेको छ भने केही ठाउँमा कालोपत्रे गर्न बाँकी छ ।