काठमाडौं : नेपाली कांग्रेस तरुण विभागले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता टोलीलाई सम्मान गरेको छ । बुधबार विभागले नेपाली फुटबल टोलीका सम्पूर्ण सदस्य र अफिसियललाई सम्मान गरेको हो ।
फुटबल खेलाडी तथा अफिसियललाई नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले सम्मान गरे । नेपाली फुटबल टोलीलाई तरुण विभागका प्रमुख शंकर भण्डारीले सम्मान गरे ।
खेलाडीलाई प्रमाणपत्र र २ लाख ६१ हजार बराबरको आर्थिक सम्मान गरेको थियो ।
सम्मान कार्यक्रममा बोल्दै नेपाली टोलीका खेलाडी सुजल श्रेष्ठले यस्तैखाले सम्मानले नेपाली टोलीलाई उत्कृष्ट नतिजा निकाल्न सहज हुने बताए ।
“हामीलाई यस्तै खाले सम्मानले धरै हौसला मिल्छ । आगामी दिनमा राम्रो नतिजा ल्याउन प्रेरणा दिने स्रोत नै यही हो,” उनले भने ।
त्यस्तै गृहमन्त्री खाँडले खेलाडीलाई सरकारले पनि हौसला प्रदान गर्ने बताए । उनले अर्काे सिजनमा खेलाडीले उपाधि जितेर नेपाल फर्किएमा पदकबाट सम्मान गर्ने पनि बताए ।
त्यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालमा दुई अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि प्रयास गरिरहेको बताए ।
उनले नेपालको खेल भुटानमा गएर हेर्ने अवस्था भएकाले त्यसको अन्त्यको मुख्य कारण नै अन्तर्राष्ट्रिय मैदानको निमार्ण भएको बताए ।