दुलेगाैडा : नेकपा एमालेको गाउँ तथा नगर अधिवेशन मंगलबार सम्पन्न भएको छ । यही क्रममा तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
सर्वसम्मत नेतृत्व चयन भएका पाँच स्थानीय तहमध्ये आँबुखैरेनीले महिला नेतृत्व पाएको छ । आँबुखैरेनीकी अध्यक्ष बनेकी ४४ बर्षीया मिना अधिकारीको नेतृत्वमा ५३ सदस्यीय गाउँ कमिटी गठन भएको छ । उनी सर्वोच्च अदालतको निर्णयअनुसार नेकपा एमाले र माओवादी केन्द्रको एकता भंग भएपछि एमालेको गाउँ कमिटी अध्यक्ष थिइन । गाउँ कमिटी अध्यक्ष बनेपछि अधिकारीले महिला नेतृत्व हाँक्न सक्षम रहेको पुष्टि गर्ने बताएकी छिन् । उनले भनिन्, ‘मसँग आँट र साहस दुवै छ । अनुभव पनि छ । मेरो कामले महिलाले पनि नेतृत्व गर्न सक्छन् भन्ने प्रमाणित हुनेछ ।’
उनले महिलालाई नेतृत्व दिन पार्टी पंक्तीले पनि कन्जुस्याँई गर्ने गरेको बताइन् । ‘अहिलेसम्मको परिस्थितिमा कुनै राजनीतिक दलले पनि महिलालाई नेतृत्व सहजै दिएका छैनन् । एक त महिलालाई घरपविारबाटै असाध्यै कठिन छ । त्यो चुनौति पन्छ्याएर राजनीतिमा लागेपछि पनि पार्टीको अन्तरिक राजनीतिमा फेरि संघर्ष गर्नुुपर्ने हुन्छ’, उनले भनिन् । अब पार्टीमा महिलाको सहभागितासँगै नेतृत्वमा पुर्याउन भूमिका खेल्ने उनको भनाइ छ ।
बन्दीपुर गाउँपालिका–१ नाहालमा जन्मिएकी अधिकारीले कक्षा ९ मा पढ्दा अनेरास्ववियू छैटौँमा प्रवेश गर्दै राजनीतिक यात्रा सुरु गरेकी थिइन् । उनी ०५५ सालपछि भने पार्टीको सक्रिय राजनीतिमा लागेकी थिइन ।