दमाैली : तनहुँको ऋषिङ गाउँपालिकाले अध्यक्ष कप अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विकासका काम सँगसँगै खेलकुदका गतिविधिलाई अगाडी बढाउने उद्देश्यले गाउँपालिकाले आगामी मङ्सिर १८ गतेदेखि २२ गतेसम्म अध्यक्ष कप अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो ।
यो वर्षको प्रतियोगिता दोस्रो संस्करण हो । गत वर्ष गाउँपालिकाले प्रथम अध्यक्ष कप प्रतियोगिता सम्पन्न गरिसकेको छ ।
प्रतियोगिताबारे जानकारी दिन मङ्गलबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले खेल क्षेत्रको विकासका लागि खेलकुदका गतिविधिलाई प्राथमिकताका साथ सञ्चालन गरिएको बताए । “स्थानीय तहमा निर्वाचित भएर आएदेखि नै गाउँपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको छ,” उनले भने, “पहिलो वर्ष सिक्दैमा बित्यो, दोस्रो वर्षदेखि खेलकुद कार्यक्रमलाई तीव्रता दियौ ।”
उनका अनुसार दोस्रो वर्षदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको थियो । तेस्रो वर्ष प्रथम अध्यक्ष कप, म्याराथन लगायतका प्रतियोगिता सम्पन्न भए । प्रथम अध्यक्ष कपका लागि गत वर्ष तयारी ढिलाई हुँदा केही कमजोरी भएकाले गत वर्षको कमजोरीबाट पाठ सिक्दै यस वर्ष प्रभावकारी रुपमा प्रतियोगिता सम्पन्न गरिने श्रेष्ठले बताए । “गत वर्षको कार्यक्रमले पाठ सिकाएको छ, गत वर्षको कमजोरीलाई सच्याउँदै यो वर्ष बेलैमा तयारी थालेका छौ,” उनले भने, “प्रतियोगिता सम्पन्न गर्नका लागि सबै क्षेत्रबाट सहयोगको आशा राखेका छौ ।”
ऋषिङ गाउँपालिका–१ झापुटारस्थित खेलमैदानमा हुने प्रतियोगितामा देशभरबाट ५० टिमको सहभागिता हुने अनुमान गरिएको छ । गत वर्ष १७ टिमको सहभागिता थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु एक लाख ४० हजार, एक लाख, रु ६० हजार, रु ३० हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि रु ६ लाख बजेट विनियोजन गरिएको र बजेट नपुग भएमा गाउँपालिकाले नै व्यवस्था गर्ने श्रेष्ठले बताए । “प्रतियोगिताले तनहुँमा मात्र होइन, देशकै लागि उत्कृष्ट खेलाडी उत्पादन हुने विश्वास लिएका छौ,” श्रेष्ठले भने।
गाउँपालिकाले आगामी पुस २७ गते म्याराथन र चैतेदसैंमा महिलालाई लक्षित गरी उपाध्यक्ष कप भलिबल प्रतियोगिताको समेत आयोजना गर्ने भएको छ ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।