दुलेगाैडा : बिहीबार विहान करेन्ट लागेर मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ बर्षीय चित्रबहादुर राना मगरको परिवारलाई विधुत व्यवस्थापन समितिले १६ लाख रुपैयाँ क्षतिपुर्ति दिने भएको छ ।
विद्युत व्यवस्थापन समितिको लापरवाहीका कारण मृत्यु भएकाले २५ लाख रुपैयाँ क्षतिपुर्ति पाउनुपर्ने माग राख्दै मृतकको शव आफन्तले बुझ्न मानेका थिएनन् । शुक्रबार ग्रामिण पुर्वाधार तथा वातावरण विकास मञ्च दुलेगौँडाले मृतक परिवारलाई १६ लाख रुपैयाँ क्षतिपुर्ति उपलब्ध गराउने सहमती भएको हो । सहमति भएसँगै मृतकको शव दमौली अस्पतालमा पोष्टमार्टम गरी नागढुंगा शवदाहन गृृह बेलचौतारामा अन्त्येष्टि गरिएको छ ।
समितिले एक लाख रुपैयाँ किरिया खर्च वापत आईतबार उपलब्ध गराउने सम्झौता गरेको छ । बाँकी १५ लाख रुपैयाँ २५ पुसभित्र उपलब्ध गराउन समिति सहमत भएको हो । यस्तै, घाईतेको उपचार र यातायात खर्च पनि समितिले व्यहोर्ने भएको छ । विहीबार विहान ४ बजे ट्रान्सफर्मरमा आगलागी हुदाँ गाउँमा हाइभोल्टमा करेन्ट प्रवाह भएको थियो । विहान ७ बजे चित्रबहादुर आफ्नै कोठामा हातमा मोबाईल लिईरहेको अवस्थामा अचेत भेटिएका थिए ।
स्थानीयका अनुसार उनको दाहिने हात, मोबाईल र चार्जर समेत जलेको थियो । उपचारका लागि बेलचौतारास्थित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र ल्याईएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । करेन्ट लागेर दुरुङचुङका थप दुई जना घाईते भएका थिए । उपचाररपछि घाईते दुवै जना निको भएका छन् । विधुत व्यवस्थापन समितिको लापरवाहीले ट्रान्सफर्मरमा फ्युज नराखिकन विधुत प्रवाह गर्दा घटना घटेको स्थानीयको आरोप छ ।