दमाैली : गण्डकी प्रदेशका बिना विभागीय मन्त्री डोवाटे विक तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तनहुँमा जारी मतगणना अनुसार बिना विभागीय मन्त्री विक महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
दलित खुल्लातर्फबाट उम्मेदवारी दिएका मन्त्री विकले ५७२ मत प्राप्त गरेका छन्प्र । प्रतिस्पर्धी रामकृष्ण विकले २५९ मत प्राप्त गरेका छन् ।
क्षेत्रीय अधिवेशनका लागि सोमबार मतदान भएकामा आज बिहानसम्म मतगणना जारी छ । केही पदको नतिजा आउन थालेको छ । निर्वाचनबाट खसआर्य पुरुषतर्फ जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले ५६२, भानु नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बानियाँ ४६७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
जनजाति खुल्लामा अशोककुमार श्रेष्ठ ४६७, टेकबहादुर गुरुङ ४३६ र पूर्णबहादुर गुरुङ ४२१ मत प्राप्त गरी निर्वाचित भएका छन् । आदिवासी जनजाति महिलातर्फ गण्डकी प्रदेश सांसद सरिता गुरुङ ५४० र भानु नगरपालिकाका उपप्रमुख आशा थापा ४०३ मत प्राप्त गरी निर्वाचित छन् ।
दलित महिलातर्फ चन्द्रमाया परियार ४८८ र अल्पसङ्ख्यकतर्फ खरसिं दरै ५०९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।