दमाैली : व्यास नगरपालिका–१ गल्वुवेशी घर भई हाल बेलायतमा रहेका हरिबहादुर हड्खलेले नवआदर्श आमा समूहलाई करिब रु २५ लाख मूल्य बराबरको जग्गा दान गरेका छन् । हड्खलेले साढे दुई आना जग्गा आमा समूहलाई दान गरेका हुन् ।
हालसम्म आफ्नै भवन नभएको र स्थानीय स्तरमा धेरै सामाजिक कार्य गर्दै आइरहेको समूहलाई भवन निर्माणका लागि जग्गा दान दिएको आमा समूहका कानूनी सल्लाहकार एवं जग्गादाताका दाजु अधिवक्ता डम्बरदेव हड्खलेले जानकारी दिए । हड्खले लामो समयदेखि परिवारसहित बेलायतमा बसोबास गर्दै आएका छन् । उनी हालै दुई हप्ता अगाडी पारिवारिक कामले नेपाल आएका थिए ।
यसअगाडी आमा समूहलाई केही व्यक्तिले भवन निर्माणका लागि जग्गा दान प्रतिबद्धता जनाएपनि उक्त सहयोग प्राप्त नभएको आमा समूहकी अध्यक्ष सावित्री हड्खलेले जानकारी दिइन् । हड्खलेले दान दिएको जग्गा मालपोत कार्यालयबाट आमा समूहको नाममा पास भएको छ । आमा समूहको भवन नभएका कारण विभिन्न काममा समस्या आएको जानकारी पाएपछि बुबा पिताम्बर हड्खलेको स्मृतिमा जग्गा दान दिएको हड्खलेले बताए ।
२३ वर्ष अगाडी स्थापना भएको समूहले स्थानीयवासी रामकाजी सिलवालले उपलब्ध गराएको करिब दुई आना जग्गामा देउसीभैलो, स्थानीयको घरमा हुने पूजा, लाहुरे आएका अवस्थामा नाचगान गरी प्राप्त भएको रकमले प्रतिक्षालय निर्माण गरेको छ । साथै गाउँमै रहेको अकला मन्दिर परिसरमा अकला मन्दिर महादेव मन्दिर, दुई वटा ठूला ट्रष्ट हल निर्माण गरिएको छ ।