देवघाटधाममा शतबीज छर्न भक्तजनको भीड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटधाममा शतबीज छर्न भक्तजनको भीड

    खबरपुञ्ज संवाददाता

    १५ मंसिर २०७८, बिहीबार

    देवघाट : तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा शतबीज छर्न आउने भक्तजनको भीड लागेको छ । मङ्सिर कृष्ण चतुर्दशीको दिन देवघाटमा शतबीज छर्न बिहीबार बिहानैदेखि देवघाटमा भक्तजनको भीड लागेको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले देशका विभिन्न जिल्लाबाट भक्तजनको आगमन भएको जानकारी दिए ।

    उहाँका अनुसार तनहुँका अतिरिक्त चितवन, नवलपुर, नवलपरासी, हेटौँडालगायतका जिल्लाबाट भक्तजन देवघाट आइपुगेका छन् । अझै पनि कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले विगतका वर्षहरुमा भन्दा यस वर्ष भक्तजनको सङ्ख्यामा कमी हुनसक्ने अनुमान गरिएको छ ।

    “कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गरेका छौँ”, घिमिरेले भने, “मापदण्ड अपनाएर आज राति बत्ती बाल्न अनुरोध गरिएको छ ।” रातभर जाग्राम बसेर भक्तजनले शुक्रबार बिहान दीप प्रज्वलन गरी शतबीज छर्ने गर्दछन् ।

    शुक्रबार बालाचर्तुदशी पर्व, शतबीज छरेर मनाइँदै छ । दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ । शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवङ्गत भएका आफन्तका आत्माको चीरशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ । शतबीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ ।

    सोही कारण आफन्त नहुनेले जीवनकालमै शतबीज छर्ने चलन छ । बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुनजति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौँ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रुपमा छर्ने गरिन्छ ।