दुलेगौडा : जिल्लाको बन्दीपुर गाउँपालिकाले छात्रावृत्तिमा इञ्जिनियर पढाउने भएको छ । चालु आर्थिक वर्षदेखि बन्दीपुरले दुई जना विद्यार्थीलाई छात्रावृत्तिमा इञ्जिनियरिङ पढाउन लागेको हो ।
छात्र छात्रा एक÷एक जनालाई छनोट गरी पूर्ण छात्रावृत्तिमा पढाउन लागिएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनका अनुसार यसबर्ष सुरु हुने कार्यक्रम २० वर्षसम्म सञ्चालन गर्ने योजना छ । ‘हामीले कम्तीमा ४० जना इञ्जिनियर उत्पादन गर्ने लक्ष्य राखेका छौँ’, अध्यक्ष थापाले भने ।
इञ्जिनियरिङ पढाउन छात्रवृत्ति दिन गाउँपालिकाले प्राथमिकता समेत निर्धारण गरेको छ । ‘शहिद, वेपत्ता र घाईते परिवार प्राथमिकतामा पर्नेछन् । उत्पीडित, दलित र गरिब विद्यार्थीलाई पनि यो कार्यक्रममा समेटेर इञ्जिनियर बनाउँछौँ’, उनले भने ।
गाउँपालिकाले सूचना प्रकाशित गरेर छात्रावृत्तिमा इञ्जिनियरिङ पढ्ने विद्यार्थी छनोट गर्ने जनाएको छ । डाक्टर, पाइलट पढाउन तुलनात्मक रुपमा शुल्क मंहगो पर्ने र गाउँपालिकाको आयस्रोत कम भएको कारण इञ्जिनियरिङ विषय रोजेको अध्यक्ष थापाको भनाई छ ।
गाउँपालिकाले छात्रावृत्तिमा पढाएर उत्पादन भएका इञ्जिनियरलाई रोजगारी समेत व्यवस्था गरिनेछ । ‘दुई बर्ष गाउँपालिकामा अनिवार्य सेवा गर्नुपर्नेछ । गाउँपालिकासँग सम्बन्धित प्रोजेक्टमा भएपनि रोजगारी दिनेछौँ’, गाउँपालिका उपाध्यक्ष करुणा गुरुङले बताईन् । विकास निर्माणमा इञ्जिनियरको भुमिका महत्वपुर्ण हुने उनको भनाई छ ।
चालु आर्थिक बर्षको बजेटमा दुई विद्यार्थीलाई इञ्जिनियरिङ पढाउन गाउँपालिकाले आठ लाख रुपैयाँ बजेटको व्यवस्थापन गरेको छ । बर्षेनी बजेटको आकार बढ्ने गाउँपालिकाको अनुमान छ । बन्दीपुरले माध्यमिक तहको पढाई हुने सबै विद्यालयमा छात्रावास राख्ने तयारी गरिरहेको छ ।