ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा शनिबारदेखि दोस्रो ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ऋषिङ गाउँपालिका (बि) समूह विजयी भएको छ ।
आयोजक ऋषिङ (बि) र म्याग्दे गाउँपालिकाबीच भएको खेलमा ऋषिङ (बि) सोझो तीन सेटमा विजयी भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।
प्रतियोगितामा तनहुँको व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, घिरिङ गाउँपालिका, स्याङ्जाको बिरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, कास्कीको मादी गाउँपालिका, रुपाकोट गाउँपालिका, बागलुङको गलकोट नगरपालिका, नवलपुरको बौदीकाली गाउँपालिका गरी १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको दोस्रो दिन आइतबार चार खेल सञ्चालन हुनेछन् ।
विकासका काम सँगसँगै खेलकुदका गतिविधिलाई अगाडी बढाउने उद्देश्यले सुरु भएको प्रतियोगिता २२ गतेसम्म सञ्चालन हुनेछ । यो वर्षको प्रतियोगिता दोस्रो संस्करण हो । गत वर्ष गाउँपालिकाले प्रथम अध्यक्ष कप प्रतियोगिता सम्पन्न गरेको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु एक लाख ४० हजार, एक लाख, रु ६० हजार, रु ३० हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले खेल क्षेत्रको विकासका लागि खेलकुदका गतिविधिलाई प्राथमिकताका साथ सञ्चालन गरिएको बताए ।