रोजगारदाता र श्रमिकको सम्बन्ध सुमधुर नभए उद्योग फस्टाउँदैन : श्रममन्त्री श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    रोजगारदाता र श्रमिकको सम्बन्ध सुमधुर नभए उद्योग फस्टाउँदैन : श्रममन्त्री श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २३ पुष २०७८, शनिबार

    दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारदाता र श्रमिकको सम्बन्ध सुमधुर नभए उद्योग व्यवसाय फस्टाउन नसक्ने बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घको शनिबार आयोजित ३६ औं साधारणसभाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिक एक अर्काका परिपुरक रहेको चर्चा गरे ।

    श्रमिक र रोजगारदाताबीच आपसी समझदारी र सहकार्य नभए उद्योग क्षेत्र धारासायी बन्ने मन्त्री श्रेष्ठको भनाई थियो । “श्रमिक रहे रोजगारदाता रहन्छन्, रोजगारदाता रहे श्रमिकको घरमा चुल्हो बल्छ,” उनले भने, “उद्योग फस्टाउन दुवैको उत्तिकै महत्वपूर्ण योगदान आवश्यक छ ।”

    मन्त्री श्रेष्ठले श्रमिक र रोजगारदाताको सम्बन्ध सुमधुर बनाउन सरकारको तर्फबाट खेल्न सक्ने भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । “रोजगारदाताका पनि आफ्नै समस्या छन्, बैङ्कको ऋण तिर्ने समस्या एकातिर हुन्छ अर्कोतर्फ श्रमिकको पनि आफ्नै समस्या छन्,” मन्त्री श्रेष्ठले भने, “दुवैको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्छ ।”

    कोभिड–१९ ले उद्योगी व्यवसायीलाई आक्रान्त बनाएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले कोभिडकै कारण लाखौ श्रमिकले पनि रोजगारी गुमाएको उल्लेख गरे । रोजगारी गुमाएका श्रमिकलाई रोजगारीको व्यवस्थापन गर्नु सरकारको चुनौति रहेको मन्त्री श्रेष्ठको भनाई थियो । मन्त्री श्रेष्ठले उद्योगी व्यवसायीलाई आवश्यक सीप प्रदान गर्न विभिन्न तालिम सञ्चालन गर्ने विषयमा आफू कटिबद्ध रहेको बताए ।

    मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि सुधारका कामहरु सुरुवात भइसकेको बताए । सीपमूलक सीप प्रदान गर्नका लागि सातवटै प्रदेशमा तालिम केन्द्र र प्रदेशबाटै श्रम स्वीकृती लिन मिल्ने व्यवस्था गर्न लागिएको श्रेष्ठले जानकारी दिए ।

    कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले उद्योगी व्यवसायीको सुरक्षाका लागि सरकार गम्भीर रहेको बताए ।

    कार्यक्रममा गण्डकी प्रदेशका सांसद सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायतले उद्योग व्यवसाय फस्टाउन आवश्यक नीति निर्माणमा सहयोग गर्ने बताए ।

    सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले युवालाई स्वरोजगार र महिलालाई उद्यमशील बनाउने खालका कार्यक्रम ल्याउन मन्त्री श्रेष्ठमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए ।