दुलेगौडा । माओवादी केन्द्रले देशभर एक साथ ११ मंसिरमा प्रथम गाउँ तथा नगर अधिवेशनको मिति तोक्यो। तोकिएको मितीमा तनहुँका आठ स्थानीय तहमा अधिवेशन सुरु भयो। १० मध्ये नौ स्थानीय तहमा केही दिन ढिला भएर पनि सर्वसम्मत नयाँ नेतृत्व चयन गरियो। शुक्लागण्डकी नगरपालिकामा भने अधिवेशन सुरु भएको झन्डै दुई महिना पुग्न लाग्दासमेत नेतृत्वको टुंगो लागेको छैन।
११ मंसिरमा अधिवेशन सुरु भएको दिन शुक्लागण्डकीमा ६५ सदस्यीय नगर कमिटी घोषणा भएको थियो। पदाधिकारीमा उम्मेद्वारको संख्या अधिक भएपछि सहमतिका लागि भन्दै १८ मंसिरसम्म नगर अधिवेशन सरेको थियो। सरेको मितिसम्म पदाधिकारीमा सहमति नभए निर्वाचनमार्फत टुंगो लगाउने उल्लेख गरे पनि अझैसम्म माओवादीको शुक्लागण्डकी नगर कमिटी पदाधिकारीविहीन बनेको छ।
पदाधिकारीको टुंगो लगाउन माथिल्लो कमिटीका नेताहरू असफल देखिन्छन्। पदाधिकारीको छिनोफानो लगाउन कसरतमा जुट्नुपर्ने नेताहरू नै आ–आफ्ना निकटलाई पदाधिकारी बनाउने दौडमा छन्।
नगर कमिटीलाई पदाधिकारीमा सातजना आवश्यक रहेकोमा १६ जनाको उम्मेद्वारी परेको छ। अध्यक्षमा तीनजनाले उम्मेद्वारी दिएका छन्। नगर कमिटीको अध्यक्षका उम्मेद्वार मनराज गुरुङ, शरण सापकोटा र भद्रबहादुर खत्री (विष्णु) हुन्। गुरुङ हाल नगर कमिटीका सचिव हुन्। सापकोटा वाइसीएलको तनहुँ इञ्चार्ज र खत्री माओवादी केन्द्रको जिल्ला समन्वय समितिको सचिवालय सदस्य हुन्।
खत्रीले सहमति भएमा आफ्नो उम्मेद्वारी फिर्ता लिने बताउँदै आइरहेका छन्। अध्यक्षमा मुख्य लडाइँ गुरुङ र सापकोटाबीच देखिन्छ। गुरुङलाई मुक्ति सिग्देल समूहको साथ छ। सापकोटालाई केन्द्रीय सदस्य आशा कोइराला नगर कमिटी अध्यक्ष बनाउन लागिपरेको चर्चा छ। कोइरालाले सर्वसम्मत भएमा आफ्ना श्रीमान् दिनेश गौतम (विश्वजित)लाई नगर कमिटी अध्यक्ष बनाउन चाहान्थिन्।
तर, गौतम सर्वसम्मत हुने छाँट नदेखिएपछि उम्मेद्वारी दर्ता नै भएन। र, केन्द्रीय सदस्य कोईरालाको जोडबल सापकोटालाई नगर कमिटी अध्यक्ष बनाउनेमा छ। गुरुङ र सापकोटाले अध्यक्षमा आफ्नो दाबेदारी कुनै हालतमा नछाड्ने मनस्थितिमा छन्।
नगर कमिटी उपाध्यक्षमा ६ जनाको उम्मेद्वारी परेको थियो। रामचन्द्र भण्डारी, चेतनारायण पौडेल, बुद्धिबहादुर खत्री, जौमाया बराल सुनार र राजु रानाले उम्मेद्वारी दिएका छन्। उपाध्यक्षमा एक महिलासहित तीनजना निर्वाचित हुने प्रावधान रहेको छ। जौमाया बराल सुनारले नगर कमिटीबाट राजिनामा दिएर प्रदेश कमिटी सदस्य भइसकेको अवस्था छ।
सचिवमा जीवन पोखरेल र अनिल तिवारी, सहसचिवमा अनिष ढकाल, सुमन आले, विनोद पौडेल र मिलन महतको दाबी छ। कोषाध्यक्षमा पहलसिंह विक, झ्यामकुमारी थापाको उम्मेद्ववारी दर्ता भएको छ ।
नगर कमिटीको अध्यक्ष पदमा कुनै हालतमा सर्वसम्मत नहुने देखिन्छ। ‘सहमतिको सम्भावना अब देखिँदैन। अन्तिम विकल्प भनेको निर्वाचन नै हो’, अध्यक्षका एक उम्मेद्वारले भने। नेतृत्वको असक्षमताको कारण पदाधिकारी चयनमा ढिलाई भइरहेको उनले बताए। ‘पार्टीको नगर कमिटी लामो समयदेखि नेतृत्वविहीन हुँदा जनतामा गलत सन्देश प्रवाह हुन्छ। त्यतातिर नेताहरूको ध्यान पुग्न सकेको छैन्’, उनले भने।
पार्टीको निर्देशनअनुसार सहमतिमै पदाधिकारी चयन गर्नलाई कोसिस भइरहेको पार्टीले बताउँदै आएको छ। ‘सहमतिमै नेतृत्व चयन गर्न पार्टीले भनेकाले हामीले सहमतीको प्रयास गर्यौँ। सहमति नभएको हुनाले निर्वाचन गराउन माथिल्लो कमिटीसँग अनुमति मागेका थियौँ। सहमति नै गर्नुस् भन्ने भो। त्यसपछि प्रदेश र केन्द्रको अधिवेशनमा लाग्नुपर्यो। अहिले फेरि कोरोनाले रोकेको छ’, केन्द्रीय सदस्य आशा कोइरालाले भनिन्।
आगामी साता सबै पदाधिकारी चयन हुने उनको दाबी छ। ‘जुन पदमा सहमति हुँदैन ती पदमा निर्वाचन गराउँछौँ’, उनले भनिन्। माओवादीको गण्डकी प्रदेश कमिटीमा अध्यक्ष र प्रदेश कमिटी सदस्य मात्रै चयन गरिएको छ। केन्द्रीय कमिटीमा पनि अध्यक्ष र केन्द्रीय सदस्य चयन हुँदा अन्य पदाधिकारीको टुंगो लागेको छैन।