भिमाद । एकोहोरिएर कम्प्युटरमा काम गर्दै थिए । मेरो एकाग्रतालाई भंग गराउदै माबोईलको घण्टी बज्यो । नम्बर हेरे सेभ थिएन। काममा व्यस्त भएकाले हत्तपत्त उठाउन जरुरत लागेन । यदि काम नै परेको भए दोस्रो कल अवश्य आउँछ भन्ने लाग्यो ।
फेरी त्यही अपरिचित नम्बरबाट फोनको घण्टी बज्न थाल्यो । सोचे, ‘केही काम त पक्कै होला ।’ काम छाडेर फोन उठाए । हेलो भन्न नपाउदै उताबाट,‘नमस्कार ! हजुर तालिम प्राप्त उद्यमी इजरायल पढेर आउनु भएको शिवकुमार आले हुनुहुन्छ’, भनेर अपरिचित महिलाले सोध्नुभयो ।
मैले नमस्कार हो हजुर भन्दै उत्तर दिए । उताबाट फोन गर्नेले सिधै विषयवस्तुमा जान्छु है भनेर कुरा गर्न थाल्नुभयो, ‘म काठमाडौंस्थित Advanced Farming and Technology Private Limited काठमाडौं बाट । तपाईसँग लामो अनुभव, दक्षता र प्राज्ञिक क्षमता रहेछ । मन्त्रालयबाट प्राप्त सुचीमा तपाईको नाम छ । हामिसँग आवद्ध भएर काम गर्नलाई सरको समय मिल्छ र ?’
त्यसपछि मेरा केही अनुभवहरु सुनाए । उहाँले कति पारिश्रमिक लिनुहुन्छ भनेर सोध्न भ्याउनु भो । मैले जवाफमा मेरो अनुभव र सिकाईको कुनै मुल्य नै छैन् भने । सके सम्म निशुल्क अनुभव बाँड्ने बताए ।
उताबाट हामी निशुल्क सहकार्य गर्दैनौँ, भन्नुस् भने पछि नजवाफ भए । किनकी म संग समय छैन त्यो संस्थाले खोजे जस्तो ।
उहाँको एक कल फोनले मैले मेरा सारा दुखलाई बिर्सिए । एउटा बाख्रा गोठालोको मनमा अथाहा सन्तुष्टि पैदा भए । मलाई लाग्यो, ‘ओहो ! किसानको पनि हैसियत हुन थालेछ त आजकाल यो देशमा । कसैले त एउटा गाउँले किसानलाई प्राज्ञिक ठानेछ, सम्मान गर्न जानेछ ।’ सम्झिए एक दशक अगाडि बैंकमा ऋण माग्नलाई छिरेको किसानले बस्ने कुर्सी समेत नपाएको हैसियत ।
एक जोर चप्पल र फाँटेको कमिज फेर्नलाई नसक्ने हैसियतमै पनि हाता लागेको जागिर लत्याएर आमाको मन दुखाउदै सुरु गरेको बाख्रा पालनको यात्राले आज क्षणभरमै अथाहा सन्तुष्टि दिलायो । जुन सन्तुष्टि अरु क्षेत्रमा लागेर मैले लाखौँ रुपैयाँ कमाएको भएपनि किन्न मुस्किल हुन्थ्यो होला सायद !यसैगरी किसानलाई हेर्ने नजर फेरिए यो पेशामा लाग्नेहरु पलायन हुन्थेनन् होला भन्ने सम्मका तर्कहरु मनले गरिरह्यो । कसैले सम्मान गरुन या नगरुनु उत्पादनसँग जोडिएको कर्मलाई कतै गलत बाटो त रोजिन ? भनेर हिनताबोध चाहिँ कहिल्यै भएन । जय किसान ।