दमौली । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस २५ देखि दमौलीमा नवौ तनहुँ कृषि, पर्यटन वस्तु तथा प्रविधि महोत्सव हुने भएको छ।
‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने नारा सहित महोत्सव हुन लागेको हो ।
महोत्सव सहआयोजकमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई, संरक्षक जिल्ला समन्वय समिति र प्रबर्धकमा नेपाल उद्योग वाणिज्य महासंघ र व्यास नगरपालिका रहेको छ ।
संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा महोत्सवका निर्देशक एवं संघका निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले कोभिडपछि आर्थिक गतिविधि सुस्त रहेको अवस्थामा आर्थिक चलायमान गराउने उद्धेश्य सहित महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।
महोत्सवले स्थानीय उत्पादन, घरेलु सामग्रीको बजारीकरणका लागि सहयोग पुर्याउने र पर्यटकीय स्थलको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास गरिएको उनको भनाइ छ ।
विसं २०७८ सालमा आठौ तनहुँ महोत्सव भएकामा तीन वर्षपछि नवौ महोत्सव गर्न लागिएको बताउँदै उनले महोत्सव सफल बनाउन सबैसँग आग्रह गरेका छन् ।
महोत्सवमा कृषि र घरेलुका स्टल निशुल्क उपलब्ध गराइने र धेरै भन्दा कृषि सामग्री विक्रीका लागि दशवटै स्थानीय तहसँग समन्वय गरिने उनले बताए ।
संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रले महोत्सवमा स्थानीय कृषक आफैले कृषि सामग्री ल्याएर विक्री गर्ने र उपभोक्ताले खरिद गर्ने व्यवस्था मिलाइने जानकारी दिए ।
महोत्सवको दुई लाख बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा रु पॉच करोड बराबरको कारोबार हुने अपेक्षा रहेको छ । महोत्सवमा दुई सय स्टल रहने र त्यसमध्ये खानाका १८, जनजाति खानाका ६, कृषि उत्पादनका १५, अटे कम्पनीका ८, सूचना केन्द्रका एक स्टल रहनेछ ।
पत्रकार सम्मेलनमा व्यास नगरपालिका-२ का वडाध्यक्ष काशीराम श्रेष्ठ, व्यास नगरपालिका-४ का वडाध्यक्ष मनबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका अध्यक्ष उज्वल पौडेल लगायतले महोत्सव सफल बनाउन नगरपालिकाका तर्फबाट सहयोग रहने बताए ।