दमाैली । दमौली अस्पतालका चिकित्सकले हातमा कालोपट्टि बाँधेर बिरामीको उपचार सुरु गरेका छन् । १८ महिनादेखि प्रोत्साहन भत्ता र पाँच महिनादेखि तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सकले आइतबारदेखि कालोपट्टि बाँधेर काम गरेका हुन् । चिकित्सकहरु आजपनि कालोपट्टि बाँधेर काममा खटिएका छन् ।
तलबभत्ता नपाएको भन्दै कामकाज बन्द गर्ने घोषणा गरेका चिकित्सकहरुले बिरामीलाई मर्का पर्न सक्ने भन्दै कालोपट्टि बाँधेर काम गरेको अस्पतालका मेडिकल अधिकृत डा. सिन्चन पाण्डेले जानकारी दिए । “काम नै बन्द गर्दा बिरामीलाई मर्का पर्छ भन्ने महशुस भएपछि हामीले आन्दोलन स्वरुप कालोपट्टि बाँधेर काम गरेका छौ,” उनले भने, “हालका लागि यही आन्दोलन जारी रहन्छ, त्यसपछि के गर्ने सल्लाह गर्छौ ।”
कामकाज बन्द गर्दा सर्वसाधारणलाई समस्या पर्न सक्ने भन्दै प्रमुख जिल्ला अधिकारी र दमौली अस्पतालका प्रमुखले अनुरोध गरेका थिए । “लामो समयदेखि तलबभत्ता नपाउँदा बिना पारिश्रमिक काम गरिरहेका छौ, “मेडिकल सुपरिटेण्डेटले यो वर्षको भत्ता उपलब्ध गराउँछौ भन्नुभएको छ ।” तर विगतदेखि नै तलबभत्ता उपलब्ध गराउँछौ मात्रै भन्दै आएकाले आन्दोलनमा उत्रिनुको विकल्प नभएको डा. पाण्डे बताउँछन् ।
कोभिड महामारीमा ज्यान जोखिममा राखी गरेको कामको लागि सरकारले जोखिमभत्ता दिने निर्णय गरेपनि अस्पतालमा कार्यरत चिकित्सकले भने तलबभत्ता नपाएको गुनासो गर्दै पहल गरिदिन प्रमुख जिल्ला अधिकारी समक्ष शुक्रबार ज्ञापनपत्र बुझाएका थिए ।
दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. सुनिल पौडेलले चिकित्सकलाई तलबभत्ता उपलब्ध गराउने विषयमा पहल भइरहेको जानकारी दिए । “यो समस्या समाधानका लागि सङ्घीय सरकार, प्रदेश सरकारको ध्यानाकर्षण भइसकेकाले छिट्टै तलबभत्ता उपलब्ध हुनेमा विश्वास लिएका छौ, माथिल्लो तहले गर्नुपर्ने विषय भएकाले मेरो तर्फबाट पनि केही नलाग्ने देखिएको हो,” उनले भने, “यो विषयमा सबैको ध्यानाकर्षण भइसकेको छ ।”
अस्पताल व्यवस्थापन समिति पदाधिकारीविहिन हुँदा पनि चिकित्सकको तलबभत्ता निकासीमा समस्या देखिएको डा. पौडेलले बताए । “आर्थिक सम्बन्धी निर्णय व्यवस्थापन समितिको बैठकले पारित गर्नुपर्छ, अस्पताल पदाधिकारीविहिन छ,” उनले भने, “त्यही कारण असोजदेखि तलब दिन नसकिएको हो ।”
अस्पतालमा कार्यरत डा. आस्था रेग्मी, डा. राजु राना मगर, डा. दिवस ढकाल, डा. सुनयन सुवेदी, डा. सिन्चन पाण्डे, डा. पुजा सैजु, डा. प्रशन्न कार्की, डा. अभिनन्दन तिवारी, डा. सञ्जिव भण्डारी, डा. कृष्ण गिरी र डा. सुशील विकले विसं २०७७ साउनदेखि प्रोत्साहन भत्ता पाएका छैनन् ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।