दमाैली । कोभिड–१९ को जोखिमका कारण स्थगित भएको व्यास नगर अल्ट्रा म्याराथन फागुन २८ गते सञ्चालन हुने भएको छ । यसअघि शहीद दिवसका दिन माघ १६ गते हुने भनिएको व्यास नगर अल्ट्रा म्याराथन फागुन २८ गते गर्ने निर्णय भएको छ ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले व्यास–५ मानुङदेखि व्यास–८ पुलिमराङसम्म म्याराथन गर्ने निर्णय गरेको हो । नगरपालिकाले प्रत्येक वर्षको शहीद दिवसका दिन म्याराथन गर्दै आएको थियो ।
नगरपालिकाले म्याराथनलाई पर्यटन प्रबद्र्धनसँग जोड्न खोजेको छ । मगर र गुरुङ गाउँलाई खेलकुदबाट जोडेर प्रचारप्रसार गर्ने उद्देश्य राखिएको नगरप्रमुख न्यौपानेले बताए । “पर्यटकीय गाउँ मानुङ र सहिदहरुको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित म्याराथनले त्यस ठाउँको प्रबद्र्धन भएको विश्वास गरेका छौ,” न्यौपानेले भने ।
व्यास नगरपालिका–५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमि दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।
यसैगरी महिला हाफ म्याराथन प्रतियोगिता फागुन २४ गते सञ्चालन गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । महिला हाफ म्याराथन दमौलीदेखि तनहुँसुरसम्म सञ्चालन हुनेछ ।
बैठकले शैक्षिक बेरोजगार महिलालाई दिने अनुदान सम्बन्धी कार्यविधि, २०७८, वैदेशिक रोजगारबाट फिर्ता हुनेहरुलाई वितरण गरिने अनुदान वितरण सम्बन्धी कार्यविधि, २०७८, कर्मचारी सेवा सुविधा मापदण्ड, २०७८ र नगरपालिकाबाट पुरस्कृत गर्ने सम्बन्धी कार्यविधि, २०७८ समेत पारित गरेको छ ।
नगरपालिकाको चैत ३० गते स्थापना दिवस मनाउन नगरप्रमुखको अध्यक्षतामा मूल समारोह समिति, वडाध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा स्मारिका प्रकाशन समिति, वडाध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा पुरस्कार छनौट सिफारिस समिति गठन गरिएको छ ।
बैठकले फोहरमैला व्यवस्थापन लगायत विभिन्न विषयमा प्रत्येक वडा समितिको आयोजनामा टोल विकास संस्था र अन्य सामाजिक सङ्घसंस्थाका प्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम एक महिनाभित्र सम्पन्न गर्ने निर्णय गरिएको छ । यसैगरी जथाभावी कुखुरा, अण्डा ओसारपसार कार्यले बर्डफ्लु आउन सक्ने हुँदा त्यसको निगरानी राख्न र समस्या देखिएमा तत्काल सूचना दिन सम्बन्धित सबैमा अनुरोध गरिएको सिग्देलले बताए ।