दमाैली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ आउने भएका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन वरिष्ठ नेता पौडेल फागुन ११ गते बुधबार गृहजिल्ला आउन लागेका हुन् । जिल्ला रहँदा पौडेलले नगर अस्पताल शिलान्यासदेखि कार्यकर्ता भेटघाट गर्ने पौडेलको सचिवालयले जनाएको छ ।
पौडेलले फागुन १२ गते मादी मस्र्याङ्गदी मोटर मार्गको अवलोकन, कलेस्ती, गजौडे, वृता, भानुको टुहुरेपसल र रम्घाटार, महन्ते हटिया, देउरालीटारमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले जानकारी दिए ।
फागुन १३ गते व्यास नगरपालिका–१० मा निर्माण हुन लागेको व्यास नगर अस्पतालको पौडेलले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सोही दिन पौडेलले कालिका मार्गको अवलोकन गर्नुका साथै रुपाकोटमा आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्नेछन् ।
फागुन १४ गते नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ को आयोजनामा खैरेनीटारमा हुने सुदृढीकरण एवं अन्तरक्रिया कार्यक्रममा पौडेलले सहभागिता जनाउनेछन् ।