दमाैली । सदरमुकाम दमौलीस्थित भोर्लेटारचोकबाट लागुऔषध सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१४ भानुभक्त चोक बस्ने १८ वर्षीय सुन्दर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गएराति पृथ्वीराजमार्गस्थित व्यास–२ भोर्लेटारचोकमा खटिएको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्ने क्रममा विक पक्राउ परेका हुन् । प्रहरीले निजको साथबाट २४३ चक्की नाइट्राभेट बरामद गरेको छ ।
पक्राउ परेकाविरुद्ध आइतबार तनहुँ अदालतबाट लागुऔषध मुद्दामा दश दिनको म्याद थप गरिएको छ ।