दमाैली । संस्थागत क्षमता स्वमूल्याङ्कनमा तनहुँको म्याग्दे गाउँपालिका जिल्लाकै प्रथम भएको छ । स्थानीय तह क्षमता विकास स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार गाउँपालिकाले दशवटै स्थानीय तहमध्ये प्रथम हुन सफल भएको हो ।
म्याग्देले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९१.५ अङ्क प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक आर्थिक वर्षमा स्थानीय तहको स्वमूल्याङ्कन गर्ने गर्दछ । गाउँपालिकाको शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह लगायतका सूचकलाई आधार मानेर गाउँपालिकाको स्वमूल्याङ्कन गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।
अधिकारीका अनुसार शासकीय प्रबन्धतर्फ कूल ९ अङ्कभारमा ९, सङ्गठन तथा प्रशासनतर्फ ८ अङ्कभारमा ८, वार्षिक बजेट तथा व्यवस्थापनतर्फ ११ अङ्कभारमा ११, वित्तीय एवं आर्थिक व्यवस्थापनतर्फ ११ अङ्कभारमा ११ अङ्क प्राप्त भएको छ ।
सेवाप्रवाहतर्फ १६ अङ्कभारमा १६, न्यायिक कार्यसम्पादनतर्फ ७ अङ्कभारमा ७, भौतिक पूर्वाधारतर्फ १३ अङ्कभारमा ९.५, सामाजिक समावेशीकरणतर्फ १० अङ्कभारमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ ९ अङ्कभारमा ७ र सहकार्य र समन्वयातर्फ ६ अङ्कभारमा ३ अङ्क प्राप्त भएको छ ।
म्याग्दे गत आर्थिक वर्षमा पनि जिल्लाकै पहिलो हुन सफल भएको थियो । सबैको सहयोगले गाउँपालिकाले प्रथम हुन सफल भएको अधिकारीले बताए ।