म्यादी प्रहरीका लागि तनहुँमा तीन गुणा बढी आवेदन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्यादी प्रहरीका लागि तनहुँमा तीन गुणा बढी आवेदन

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०७८, आईतवार

    दमौली । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन तनहुँमा तीन गुणा बढीको आवेदन परेको छ । चैत ६ गतेदेखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा तनहुँमा मागभन्दा तीन गुणा बढीको आवेदन परेको हो ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काका अनुसार म्यादी प्रहरीमा भर्ना हुनका लागि तीन हजार चार सय १८ को आवेदन परेको छ । त्यसमध्ये एक हजार दुई सय ९२ म्यादी प्रहरी छनौट गरिनेछ । ४० दिनका लागि काम गर्ने इच्छा सहित प्रहरी कार्यालयमा फारम भर्न उपस्थित सङ्ख्याले म्यादी प्रहरी बन्न युवायुवतीको आकर्षण देखिएको हो ।

    “म्यादी प्रहरीका लागि आवश्यक सङ्ख्या भन्दा धेरैको आवेदन परेको छ, त्यसो हुँदा छनौट विधि मार्फत् म्यादी प्रहरी भर्ना गरिनेछ,” प्रनाउ खड्काले भने ।

    म्यादी प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने छ । उमेर हद खुकुलो भएको कारण अधिकांश भूपू प्रहरी र भूपू सैनिकले पनि फारम भरेका छन् । म्यादी प्रहरीमा भर्ना हुनका लागि कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, साधारण लेखपढ गर्न जान्ने र शारीरिक तथा मानसिकरुपमा तन्दुरुस्त रहेको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ ।

    सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा २०७८ साउन १ गतेदेखि विभिन्न पदमा भर्नाको लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेशपत्रको प्रतिलिपि पेश गर्नेहरुलाई म्यादी प्रहरीमा प्राथमिकतामा राखिने बताइएको छ ।

    त्यस्तै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा कार्यरत रही पेन्सनमा बसेका पूर्व सुरक्षाकर्मी, पूर्व वनरक्षक तथा विदेशी राष्ट्रका सुरक्षा निकायमा रही पेन्सनमा बसेकाहरु र विगतका निर्वाचनहरुमा म्यादी प्रहरीको रुपमा कार्यरत रहेकाहरुलाई पनि प्राथमिकतामा
राखिने जनाइएको छ ।

    भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक रु ३० हजार २४० पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार २००, पोसाक र अन्य खर्च गर्ने गरी रु छ हजार, यातायात खर्चबापत रु एक हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ । छनोट प्रक्रिया भने १५ चैतदेखि प्रारम्भ हुने, नतिजा २२ चैतसम्म प्रकाशन गरिने र २८ गतेदेखि प्रशिक्षण सुरु गरिने भएको छ ।