तनहुँमा ७५ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा ७५ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप

    खबरपुञ्ज संवाददाता

    १७ चैत्र २०७८, शुक्रबार

    दमाैली । तनहुँमा ७५ हजार भन्दा बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । चैत २५ गतेदेखि जिल्लाका बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो ।

    त्यसक्रममा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। टाइफाइड ज्यानै जोखिममा पार्न सक्ने सङ्क्रामक रोग भएकाले खोप लगाउन सबैले उत्प्रेरणा जगाउनुपर्ने अधिकारीले बताए।

    धेरै विद्यार्थी भएको विद्यालयमै खोपकेन्द्र राखेर खोप लगाइनेछ भने कम विद्यार्थी भएको विद्यालयलाई नजिकका विद्यालय वा स्वास्थ्यमार्फत् खोप लगाउने व्यवस्था मिलाइनेछ । चैत २५ देखि २९ गतेसम्म पहिलो चरणमा र चैत ३० गतेदेखि वैशाख ३ गतेसम्म दोस्रो चरणमा खोप अभियान सञ्चालन हुनेछ ।

    विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा खोप लगाउन नहुने कार्यालयले जनाएको छ । साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा पनि खोप लगाउन नहुने कार्यालयले जनाएको छ ।

    टाइफाइड खोप लगाएपछि अन्य खोपहरुमा जस्तै केही सामान्य दुखाइ, सुन्निने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरु दुख्ने हुने भएपनि विस्तारै ठिक हुने अधिकारीले बताए। उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने टाइफाइडका मुख्य लक्षण हुन् ।

    स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट वीरेन्द्र चौधरीका अनुसार खोप टोलीमा खोप दिने स्वास्थ्यकर्मी कम्तिमा एक जना र आवश्यकता अनुसार थप गरिनेछ । प्रत्येक खोप केन्द्रमा एक जना महिला स्वास्थ्य स्वयंसेविका र अनिवार्य रुपमा एक जना तोकिएको महिला शिक्षिका परिचालन हुनेछन् ।

    विद्यालय बाहिर खोपकेन्द्र भएमा एक जना स्वयंसेविका र खोपकेन्द्र नरहेको नजिकको विद्यालयबाट महिला शिक्षिका एक जनालाई स्वयंसेवक छनौट गरिने चौधरीले बताए।

    टाइफाइड ढल वा सङ्क्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहको व्यक्तिहरुमा लागेको पाइएतापनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ । टाइफाइड जस्ता पानीजन्य सङ्क्रामक रोगबाट बच्नका लागि पानीलाई उमालेर वा फिल्टर गरेर पिउन, खाना खानुअघि, दिसापिसाब गरेपछि, खाना बनाउनु वा छुनु अघि, बालबालिकालाई खाना खुवाउनुअघि साबुनपानीले हात धुन कार्यालयले अनुरोध गरेको छ ।