मतदान र सहायक मतदान अधिकृतलाई तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मतदान र सहायक मतदान अधिकृतलाई तालिम

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०७९, शुक्रबार

    दमाैली । मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले स्थानीय तह निर्वाचनका लागि खटिने मतदान र सहायक मतदान अधिकृतलाई तालिम दिन सुरु गरेको छ । तनहुँका दशवटै पालिकामा खटिने मतदान र सहायक मतदान अधिकृतलाई तालिम दिइएको हो ।

    जिल्लाका एक सय ३६ मतदानस्थलका दुई सय ९७ मतदान केन्द्रमा मतदान र सहायक मतदान अधिकृत खटाइँदैछ । निर्वाचनमा खटिने दुई सय ९७ मतदान र दुई सय ९७ सहायक मतदान अधिकृतलाई शुक्रबार र शनिबार तालिम प्रदान गरिने जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।

    व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा आयोजित तालिममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले निर्वाचनमा खटिने कर्मचारीले निष्पक्ष भएर जिम्मेवारी पूरा गर्नुपर्ने बताए। ढुङ्गानाले आचारसंहितामा बाँधिएर निर्वाचनलाई सम्पन्न गराउनेतर्फ ध्यान दिन आग्रह गर्दै भने, “निर्वाचनमा खटिएपछि सबैले आफ्नो आस्थालाई बिर्सिनुपर्छ, सबैलाई समान नजरले हेरेर निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउनेतर्फ लाग्नुपर्छ ।”

    मुख्य निर्वाचन अधिकृत ढुङ्गानाले शनिबारदेखि नै नियुक्ति प्रक्रिया अगाडी बढाइने बताए। नियुक्ति सकिएपछि मतपेटिका र मतपत्र हस्तान्तरण गरिने उनले बताए ।

    प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनलाई भयरहित बनाउन सुरक्षा अवस्था मजबुद बनाइएको भन्दै ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरे। “मतदान केन्द्रमा सुरक्षाको अवस्था मजबुद बनाइएको छ, सुरक्षामा कुनै कसुर बाँकी राखिदैन,” उनले भने, “ढुक्क भएर निष्पक्ष रुपमा जिम्मेवारी वहन गर्नेतर्फ ध्यान दिनुहोला ।” मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य रुपमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ अर्यालले बताए।

    प्रहरी उपरिक्षक राजेन्द्रबाबु रेग्मीले हरेक मतदान केन्द्रमा प्रहरी परिचालित हुने भएकाले ढुक्क हुन आग्रह गरे। निर्वाचनमा कुनै शङ्कास्पद गतिविधि भएको पाइए तत्कालै प्रहरीलाई खबर गर्न उहाँले अनुरोध गरे। “हरेक मतदान केन्द्रमा प्रहरी परिचालन गरिएको छ, सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ,” उनले भने ।

    सशस्त्र प्रहरी उपरिक्षक सूर्यप्रसाद अर्यालले शान्तिपूर्ण रुपमा चुनाव सक्षम गराउन प्रहरी तत्पर रहेको बताए ।

    पहिलो दिन तीन सय जना मतदान र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । भोलि बाँकी दुई सय ९४ लाई तालिम दिईनेछ । तालिममा कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षबारे जानकारी दिइनेछ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा तालिम दिइने निर्वाचन कार्यालयका प्रमुख ढकालले बताए।

    मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको छ ।