दमाैली । तनहुँ जिल्लाका ५६ वडा बाढीपहिराको जोखिममा रहेको छ । जिल्ला विपद् व्यवस्थापन समिति तनहुँले तयार गरेको जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार दश पालिकाका ५६ वडा बाढीपहिराका जोखिममा रहेको हो ।
विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले वर्षात्को समयमा जिल्लामा पर्न सक्ने बाढीपहिरा लगायतका जोखिमको प्रभाव न्यूनीकरण तथा पूर्वतयारीको लागि कार्ययोजना बनाइएको जानकारी दिए ।
योजना कार्यान्वयनका लागि जिल्ला विपद् व्यवस्थापन समिति तनहुँको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला समन्वय समिति, स्थानीय तहमा गठित विपद् व्यवस्थापन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।
“जोखिम न्यूनीकरण र विपद् प्रतिकार्यबीच पारस्परिक सम्बन्ध हुन्छ, जोखिमलाई जति न्यूनीकरण गर्न सकियो उति नै जनधनको क्षतिमा कमी आई विपद् प्रतिकार्य सरल र सहज हुन सक्छ,” अर्यालले भने। जिल्लाका स्थानीय सरकारहरुलाई स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजनाहरुको तर्जुमा गरी कार्यान्वयन गर्न आग्रह गरिएको उनले बताए ।
विपद् आउनुपूर्व नै आवश्यक स्रोत साधनको व्यवस्था सहित तयारी हालतमा बस्न र विपद्को समयमा खोज तथा उद्धार गरी आपतकालिन राहत सहयोग एवं सुरक्षा प्रदान गर्न प्रतिकार्य योजना दस्तावेजको रुपमा रहेको प्रजिअ अर्यालले बताए ।
“प्रकोपबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गरी जिल्लाको प्रतिकार्य क्षमताको वृद्धि गरी प्रभावितहरुका आपतकालिन आवश्यकताहरुलाई समयमा नै प्रभावकारी एवं समन्वयात्मक ढङ्गबाट पूरा गर्ने सुनिश्चितता गर्नु नै योजनाको समष्टिगत उद्देश्य हो,” उनले भने ।
व्यास नगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ का ६२ टोल बस्ती पहिराका जोखिममा छन् । यस्तै वडा नम्बर १, २, ३, ६, ८, ९, ११ र १३ का ४७ बस्ती बाढीको जोखिममा छ ।
भानु नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७ का बस्ती पहिराका जोखिममा छन् भने वडा नम्बर १, २, ५, ६, ७, ११, १२ र १३ बाढीको जोखिममा छन् ।
भिमाद नगरपालिकाको वडा नम्बर ३, ५, ७, ८ र ९ का बस्ती पहिराका जोखिममा छन् भने वडा नम्बर १ र २ बाढीको जोखिममा रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर १, १०, ११ र १२ का बस्तीहरु पहिराका जोखिममा छन् भने वडा नम्बर ४ र ५ का बस्तीहरु बाढीको जोखिममा छन् । देवघाट गाउँपालिकाको वडा नम्बर १ को तीन वटा वस्ती, २, ३ र ४ का सम्पूर्ण क्षेत्र र वडा नम्बर ५ को दुई वटा बस्ती पहिराका जोखिममा छन् भने वडा नम्बर १ देखि ५ अन्तर्गतका नदी तटीय क्षेत्र बाढीको जोखिममा छन् ।
बन्दीपुर गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ का दश वटा बस्ती पहिराका जोखिममा छन् भने वडा नम्बर ६ को सामीकोट क्षेत्र बाढीको जोखिममा छन् । घिरिङ गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ५ का दश वटा बस्ती पहिराका जोखिममा छन् भने वडा नम्बर १ को कालीगण्डकी, मैदीखोला र सिरिङ्दीखोला किनारका बस्ती बाढीको जोखिममा छन् ।
ऋषिङ गाउँपालिकाको वडा नम्बर १, २, ३, ६, ७, ८ का बस्तीहरु पहिराका जोखिममा छन् भने वडा नम्बर १, ३, ४, ५, ७ र ८ का झापुटार र बेलटारका नदी बाढीको जोखिममा छन् ।
आँबुखैरेनी गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का बस्ती पहिराका जोखिममा छन् भने वडा नम्बर २, ४, ५ र ६ का बस्ती बाढीको जोखिममा छन् । म्याग्दे गाउँपालिकाका वडा नम्बर १ देखि ७ सम्मका वडा पहिराको जोखिममा छन् भने वडा नम्बर ३ ६ को अकला क्षेत्र बाढीको जोखिममा छन् ।
“मनसुनको समयमा घट्न सक्ने विभिन्न प्रकोपका घटनाहरु र यसबाट सिर्जना हुने विपद्को अवस्थामा तत्काल खोज, उद्धार तथा राहत वितरण लगायतका कार्य गर्न कार्ययोजना बनाएर अगाडी बढेका छौ,” प्रजिअ अर्यालले भने, “सम्पूर्ण सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति र स्थानीय समुदायको प्रभावकारी परिचालनबाट राहत तथा उद्धार कार्यलाई जोड दिएका छौ ।”
यो योजनाले मनसुनका कारण उत्पन्न हुने जोखिमको पूर्वानुमान गरी न्यूनीकरणमा सहयोग पुग्ने, राहत सङ्कलन एवं उद्धारका लागि सरकारी एवं गैरसरकारी निकायहरुको अधिकतम परिचालन हुने, मनसुनको कारण उत्पन्न हुन सक्ने विपद्मा प्रतिकार्यका लागि सम्बद्ध निकायहरु तयारी अवस्थामा रहनेछन् ।
विपद्को समयमा खोज तथा उद्धार एवं आपतकालिन सुरक्षा र राहत वितरण कार्यका लागि टोली तयार अवस्थामा राखिएको छ । नेपाली सेनाको चापाघाटस्थित कालीभञ्जन गण (इ) बाट सेनाहरु, जिल्ला प्रहरी कार्यालय तनहुँबाट २५ जना प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट विपद् व्यवस्थापनमा विशेष तालिमप्राप्त ५५ जना सुरक्षाकर्मी तयार गरिएको छ ।
विपद्को समयमा खोज तथा उद्धार, सुरक्षित स्थानान्तरण एवं आपतकालिन राहत सहयोगका लागि विभिन्न सङ्घसंस्थाहरुबाट भौतिक स्रोत साधन पनि तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट सेफ्टी हेलमेट, रेस्क्यु भेष्ट, लाइफ ज्याकेट, सावेल, मेटल बकेट लगायतका सामग्री व्यवस्थापन गरिएको छ भने नेपाली सेना कालीभञ्जन गण (इ) बाट ट्युव, लाइफज्याकेट, कोदालो, गैची, बन्चरो लगायतका आवश्यक सामग्री व्यवस्थापन गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट स्टेचर, लाइफ ज्याकेट, बन्चरो, सशस्त्र प्रहरी बल नेपाल नं २३ गणबाट फलामको गल, सावेल, स्टेचर, नेपाल रेडक्रस सोसाइटीबाट गैर खाद्य सामग्री व्यवस्थापन गरिएको छ ।