नवयुवाले उचाल्यो प्रथम मेयर कपको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नवयुवाले उचाल्यो प्रथम मेयर कपको उपाधि

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको दमौलीमा सञ्चालित प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि व्यास नगरपालिका–१ हाइस्कूलटारस्थित नवयुवा क्लवले जितेको छ । व्यास नगरपालिका–३ विपीवनवाटिका खेलमैदानमा बुधबार सम्पन्न फाइनल खेलमा भानुस्थित न्यु बुद्ध युवा क्लवलाई पराजित गर्दै नवयुवाले उपाधि जितेको हो ।

    नवयुवाले न्यु बुद्धलाई ३–० गोल अन्तरले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक रुपमा सञ्चालन भएको खेलको पहिलो हाफ शुन्य बराबरीमा सकिएको थियो । दोस्रो हाफमा नवयुवाले तीन गोल गर्न सफल भयो । नवयुवाको टिममा विदेशी खेलाडीको पनि सहभागिता रहेको थियो ।

    आज नै भएको सेमिफाइनल खेलमा शान्तिदिप युवा क्लव शिशाघाटलाई २–१ ले हराउँदै न्यु बुद्ध फाइनल पुगेको थियो । त्यस्तै गन्नी एफसी पोखरालाई २–० ले हराउँदै नवयुवाले फाइनल यात्रा तय गरेको थियो ।

    उपाधिसँगै नवयुवाले नगद रु दुई लाख दुई हजार दुई सय र ट्रफी प्राप्त गरेको छ । उपविजेता न्यु बुद्धले नगद रु एक लाख ११ हजार एक सय ११ र ट्रफीमा चित्त बुझाएको छ । व्यास–४ स्थित सितलचोक युवा क्लवले आयोजना गरेको प्रतियोगितामा ४२ टिमको सहभागिता रहेको थियो ।

    विजयी खेलाडीहरुलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पुरस्कार वितरण गरेका थिए ।

    कार्यक्रममा नेता भण्डारीले दमौली आसपास व्यवस्थित रङ्गशाला निर्माणका लागि पहल गर्नुपर्ने बताए । समन्वय समितिका प्रमुख वाग्लेले खेलप्रति आकर्षण बढ्दो भएपनि पूर्वाधार अभाव भएकाले यसतर्फ सोच्नुपर्ने बेला आएको बताए ।