दमाैली । बडादशैंको सातौ दिन आइतबार तनहुँको व्यास नगरपालिका–४ स्थित कालिका मन्दिरमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि विधिपूर्वक कालिका मन्दिरमा फूलपाती भित्र्याइएको हो ।
बाजागाजा सहित दमौली बजार परिक्रमा गरी कालिका मन्दिरमा पुगेर फूलपाती भित्र्याइएको हो । चापाघाटस्थित कालीभञ्जन गण (इ) का सेना र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीले लिएर गएको डोली कालिका मन्दिरमा भित्र्याइएको हो । त्यसअघि विपी वनवाटिकास्थित बेलको रुखमा पूजाआजा गरिएको हो ।
फूलपाती भित्र्याउने कार्यमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, व्यास नगरपालिकाका वडाध्यक्ष, राजनीतिक दलका प्रमुख, सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिको लगायतको सहभागिता थियो ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व शुक्रबारशास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।
कालिका मन्दिरको व्यवस्थापनमा प्रत्येक वर्ष फूलपाती भित्र्याउने परम्परा रहँदै आएको छ । बागभञ्ज्याङ सामुदायिक वनको बीचमा अवस्थित छ कालिका मन्दिर । सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादीनदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करिब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका सहिद शान्ति पार्क पर्दछ । यही पार्कभित्र रहेको मन्दिरमा पूजाआजाका लागि भक्तजन पुग्ने गरेका छन् ।