दमाैली । मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले शनिबार दमौलीमा सर्वदलीय बैठकको आयोजना ग¥यो । बैठकमा मनोनयन दर्ताको दिनलाई कसरी व्यवस्थित गर्ने, निर्वाचन आचारसंहिता लगायतका विषयमा छलफल हुँदै थियो ।
छलफलका क्रममा सहभागीहरुले निर्वाचन आचारसंहितामा लेखिएका कुरा, त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भ र उल्लघंन गरे के कारवाही हुने जस्ता विषय राख्दै गए ।
छलफलको बीचमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दलबहादुर केसीले निर्वाचन आचारसंहिताका विषयमा सहभागीले सोधेको प्रश्नलाई यस्तो पनि प्रश्न हुन्छ भन्दै कड्किए ।
मुख्य निर्वाचन अधिकृतको कार्यशैली आदेशात्मक भन्दै एमाले र कांग्रेसका प्रतिनिधिले विरोध जनाए । नेकपा एमालेका उपसचिव प्रदीपराज अधिकारीले निर्वाचन आचारसंहिताका विषयमा प्रश्न उठाउँदा आदेशात्मक हिसाबले प्रस्तुती हुन नहुने बताए ।
नेपाली कांग्रेसका सचिव लक्ष्मीभक्त खनालले मुख्य निर्वाचन अधिकृतको शैली ठीक नभएको बताए । निर्वाचन आयोग र आचारसंहिताको किताब पढ्ने भए कार्यक्रममा किन आउनुपथ्यो भन्दै खनाल आक्रोशित भए ।