दमाैली । व्यास नगरपालिकाले बजार व्यवस्थित बनाउन मापदण्ड विपरित राखिएका ‘होर्डिङबोर्ड’ हटाउन सुरु गरेको छ । नगरपालिकाले दमौली बजारलाई व्यवस्थित बनाउने योजना अनुरुप नै विभिन्न ठाउँमा विज्ञापनका लागि राखिएका होडिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट लगायतलाई नगरपालिकाले हटाउन सुरु गरेको हो ।
नगर प्रहरी शाखाका प्रमुख आशिष परियारका अनुसार साेमबार तरकारी लाईन, सफासडक, मालपोत लाईन, वडा सत्यवति लाईन, भोर्लेटारचोक लगायत बजारको मुख्य बजार क्षेत्रको हटाएको छ ।
उनका अनुसार नगरपालिकाले तोकेको निश्चित ठाँउमा मात्र मापदण्ड अनुसारको बोर्ड भने राख्न पाइने छ । उनले भने, “बोर्ड राख्न पाईन्छ, तर नगरपालिकासँग सम्झौता गरेर नगरपालिकाले तोकेको निश्चित ठाउँमा मात्र राख्न पाईन्छ ।”
साथै बजार क्षेत्रको सडकपेटीमा नियमविपरित अव्यवस्थित रुपमा राखिएका व्यापारिक प्रयोजनका सामग्री हटाई व्यवस्थित गर्न आग्रह गरिएको उनले बताए । यसैगरि नगरपालिकाले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी बजारभित्र रहेका अव्यवस्थित तारहरु पनि व्यवस्थित गर्न थालेको छ ।
विद्युतको पोलमा जथाभावी तार लगाउँदा आगलागीको जोखिम बढेको र शहर पनि कुरुप देखिएको भन्दै नगरपालिकाले इन्टरनेट सेवा प्रदायकलाई तार व्यवस्थित गर्न आग्रह गरेको थियो ।
जसअनुसार भदौ महिनाभित्रमै दमौली बजार भित्रका अव्यवस्थित तारहरु पनि व्यवस्थित हुने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।