तनहुँका वडा तहसम्मै सुरु भयो ‘जनतासँग माओवादी अभियान’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका वडा तहसम्मै सुरु भयो ‘जनतासँग माओवादी अभियान’

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०८०, शनिबार

    दमौली । तनहुँका सबै वडामा एकैसाथ ‘जनतासँग माओवादी अभियान’ सुरु भएको छ । पार्टीको तीन महिने कार्यक्रम शनिबारदेखि सुरु भएको हो ।

    तनहुँका दशवटै तहका ८५ वडामा अभियान सुरु भएको छ । दश वटा पालिकामा केन्द्रीय सदस्य र वडाहरुमा जिल्ला स्तरीय नेतालाई जिम्मा दिइएको माओवादी केन्द्रका नेता सुदिन पौडेलले जानकारी दिए ।

    अभियान अन्तर्गत तनहुँका पालिकामा केन्द्रीय सदस्यलाई जिम्मेवारी दिइएको छ । नेकपा (माओवादी) केन्द्र तनहुँ जिल्ला समन्वय समितिको हालैसम्पन्न बैठकले जिल्लाका दश वटै पालिकामा अभियान सञ्चालन गर्नका लागि केन्द्रीय सदस्यलाई जिम्मा दिने निर्णय गरेको थियो ।

    सोही बमोजिम सबै पालिकामा केन्द्रीय सदस्य परिचालन भइसकेको माओवादी केन्द्र तनहुँका संयोजक ओमराज आलेले जानकारी दिए । अभियान अन्तर्गत सबै पालिकाका वडा तहसम्मै बैठक, भेला सम्पन्न भएर अभियानका बारेमा पूर्व जानकारी गराइएको उनकाे भनाइ छ । अभियानमार्फत् जिल्लाका सबै पालिकाका ८५ वटै वडामा जनतामाझ पुग्ने कार्यक्रम रहेको आलेले जानकारी दिए ।

    व्यास नगरपालिकामा केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज शैलेन्द्र घिमिरे, शुक्लागण्डकी नगरपािलकामा तेजकुमारी पौडेल, भानु नगरपालिकामा हरिबहादुर चुमान, भिमाद नगरपालिकामा अनिल परियार, ऋषिङ गाउँपालिकामा ओमराज आले, आँबुखैरेनी गाउँपालिकामा प्रदेश कमिटी सदस्य गायत्री गुरुङ, बन्दीपुर गाउँपालिकामा खोमबहादुर कंडेल, देवघाट गाउँपालिकामा देवेन्द्र पराजुलीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै जिल्ला स्तरीय नेताहरुलाई वडाको जिम्मेवारी दिइएको छ ।

    अभियान तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण÷विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिने छ ।

    दोस्रो चरणमा पाँचघन्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवा भेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तरक्रिया गरिनेछ । तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्र्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धता एवं टोल सभा गरिने माओवादी केन्द्रले जनाएको छ ।