दमौली स्क्रव टाइफसका बिरामी पहिचान भएका छन् । दमौली अस्पतालमा गरिएको परीक्षणका क्रममा पाँच जना स्क्रव टाइफसका बिरामी भेटिएका हुन् ।
दमौली अस्पतालमा शुक्रबार ९४ जनाको नमूना परीक्षण गर्दा तीन जनामा स्क्रव टाइफस पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । परीक्षण गरिएका ५७ जनामा भने डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै बुधबार गरिएको परीक्षणका क्रममा दुई जनामा स्क्रव टाइफस सङ्क्रमण पुष्टि भएको थियो । तनहुँमा दुई वर्ष पहिला यो रोग देखा परेको थियो । हाल डेङ्गु सङ्क्रमण तीव्र रुपमा फैलिरहेका बेला स्क्रव टाइफस पनि देखिएको अधिकारीले बताए ।
स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । यो जीवाणु मुसामा समेत पाइन्छ । विशेष गरी खेतबारीमा काम गर्ने क्रममा किर्नाले टोक्दा यो रोग लाग्ने गर्दछ । समयमै उपचार नगरे मस्तिष्क, कलेजो, फोक्सोलगायतका अङ्गमा सङ्क्रमण गराउँछ भने बहुअङ्ग विकार (मल्टी अर्गन डिस्फंसन) को अवस्था पनि सिर्जना हुन सक्छ ।
उच्च ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने, धेरै टाउको दुख्ने, आँखा रातो हुने,जोर्नी र मांशपेशी दुख्ने, खोकी लाग्ने, वान्ता आउने, पेट दुख्ने र पखला लाग्ने, शरीरमा रातो बिमिरा आउने, टोकेको ठाउँमा कहिले कहीँ कालो दाग देखिने यसको लक्षण हो ।