शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०८०, बुधबार

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

    काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गए राति निषेधाज्ञाको आदेश जारी गर्दै यही मङ्सिर ५ गतेदेखि ३० दिनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने बताए ।

    जारी निषेधाज्ञामा शीतलनिवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुशी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण–पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म रोक लगाइएको छ ।

    यस्तै बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण एक सय मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ । विशिष्ट व्यक्तिको निवास कार्यालय रहेको क्षेत्रमा भेला भई धर्ना, जुलुसजस्ता कर्याक्रम गर्दा आपसी शान्ति सुरक्षा भङ्ग हुनसक्ने र नागरिकको सेवा प्रवाहमा असर गर्न सक्ने भएकाले सो क्षेत्रमा धर्ना, जुलुस गर्न रोक लगाइएको जनाइएको छ ।

    यसअघि स्थानीय प्रशासनले माइतीघर–बानेश्वर र ललितपुरको पुलचोक क्षेत्रमा निषेधको आदेश जारी गरिसकेको छ ।