तनहुँमा सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०८१, शनिबार

    दमौली । तनहुँ जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।

    अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने सङ्क्रमित फेला परेका छैनन् । व्यासमा ५७, शुक्लागण्डकीमा एक सय पाँच, भिमादमा दुई, बन्दीपुरमा ३५ र आँबुखैरेनीमा पाँच सय ५४ जनामा डेङ्गी पुष्टि भएको छ ।

    जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरुमा डेङ्गी पुष्टि भएको हो । डेङ्गी सङ्क्रमण बढेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गीको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए ।

    पूरा शरीर ढाकिनेगरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।

    गर्मी मौसममा जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा डेङ्गी सङ्क्रमित भएका थिए । जिल्लाभर करिब सात हजार सङ्क्रमित रहेकामा कूल सङ्क्रमितको ८० प्रतिशत व्यास नगरपालिकामा थिए । त्यस्तै चार जनाको डेङ्गी सङ्क्रमणबाट मृत्युसमेत भएको थियो । व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगतका वर्षमा जस्तो समस्या खेप्न नपरोस् भनि समयमै घर वरपर जमेका पानीका खल्डाखुल्डी पुर्ने, झाडी पन्छाउने र नाला सरसफाइ गर्ने कार्यलाई निरन्तरता दिइएको बताए ।

    उनका अनुसार १४ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालाई परिपत्र गर्दै अभियान सञ्चालनका लागि निर्देशन दिएको छ ।