सडक बनेको २५ वर्षपछि कुलुङखोलामा पक्की पुल निर्माण सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सडक बनेको २५ वर्षपछि कुलुङखोलामा पक्की पुल निर्माण सुरु

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८१, शुक्रबार

    दमौली । सडक निर्माण भएको २५ वर्षपछि तनहुँको भिमाद नगरपालिका–१ स्थित कुलुङखोलामा पक्की पुल निर्माण सुरु भएको छ । भिमकाली मोटरमार्ग निर्माण भएको २५ वर्षपछि यहाँ गण्डकी प्रदेश सरकारको सहयोगमा पक्की पुल निर्माण हुन सुरु भएको हो ।        

     उक्त पुलको बिहीबार गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले शिलान्यास गरेका छन् । सो अवसरमा प्रदेशसभा सदस्य आलेले आफू विगतमा अर्थमन्त्री हुँदा यस ठाउँलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेको बताए ।          

    भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले विगतमा यहाँ पक्की पुल नहुँदा यस भेगका सर्वसाधारणले सास्ती बेहोर्दै आएको र पुल बनेपछि सहज हुने बताए ।  

    भौतिक पूर्वाधार विकास मन्त्रालयको रु सात करोड ७३ लाख ६४ हजार तीनसय ८२ को लागतमा यहाँ पुल निर्माण हुन लागेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । उक्त पुल निर्माणका लागि चालु आर्थिक वर्षमा रु दुई करोड १६ लाख ५६ हजार विनियोजन भएको छ ।

     पुल निर्माणका लागि एमएस ज्वालामुखी कन्स्ट्रक्सन धादिङसँग सम्झौता भएको छ । ७४.२० मिटर लम्बाइ रहेको पुल निर्माणका लागि विसं २०८१ असार १० गते निर्माण व्यवसायीसँग सम्झौता भइसकेको छ ।

    उक्त पुल विसं २०८३ असार ९ गते सम्पन्न गर्ने म्याद रहेको छ ।  कुलुङखोलामा पुल नहुँदा सर्वसाधारणले जोखिम मोलेरै खोला वारपार गर्दै आएका छन् ।

    स्थानीवासी समेत रहेका भिमाद नगरपालिका–१ का वडा सदस्य दयाराम श्रेष्ठले पुल निर्माणपश्चात् यस ठाउँका सर्वसाधारणलाई सहज रुपमा आवतजावत गर्न सहयोग पुग्ने बताए ।  उनले भने, “भिमकाली मोटरमार्ग बनेको २५ वर्ष भयो । यो खोलामा पुल नहुँदा वर्षायाममा त निकै समस्या हुन्छ । पुल निर्माणको माग धेरै वर्ष पहिलादेखिको हो । अब पुल निर्माणको काम सुरु भएको छ ।”