दमौली । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा भुइँमै राखेर उपचार गरिएको भन्ने समाचार सत्य नरहेको अस्पतालका प्रमुख डा. परिवर्तन बरालले बताएका छन् । केही अनलाइनमा भुइँमै राखेर बिरामीको उपचार गरिएको समाचार आएकामा आफू पनि अचम्मित भएको भन्दै उनले त्यस्तो नरहेको उल्लेख गरे ।
अस्पतालमा बिरामीको चाप रहेपनि भुइँमै राखेर उपचार गरिएको भन्ने गलत रहेको उनले बताए । उनले भने, ‘हिजो बरु एक जना अपाङ्गता भएका व्यक्ति उपचारका लागि आउनुभएको रहेछ । उहॉलाई सहजताका लागि तलै राखेर सेवा दिइएको थियो ।’
पन्ध्र शय्या क्षमताको अस्पतालले ५० शय्यामा सेवा दिइरहेको छ । अस्पतालमा बढ्दो बिरामीको चापका कारण अस्पतालको स्तरोन्नति अति आवश्यक भएको डा. बरालको भनाइ छ । अहिलेकै क्षमतामा बिरामीलाई सेवा दिन कठिन भइरहेको उनले उल्लेख गरे ।