प्रशासन कार्यालय तनहुँमा क्युआरमार्फत् गुनासो गर्न सकिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रशासन कार्यालय तनहुँमा क्युआरमार्फत् गुनासो गर्न सकिने

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०८१, शनिबार

    दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँमा क्युआर कोर्डमार्फत् गुनासो गर्न सकिने सेवा सुरु भएको छ । सूचना प्रविधिको प्रयोग गरी जनतालाई सेवा प्रवाह गर्ने उद्धेश्यसहित कार्यालयले शुक्रबारदेखि क्युआरकोड मार्फत् गुनासो गर्न सक्ने सेवाको सुरु गरेको हो ।

    कार्यालयमा कामकारबाहीबारे मोवाइलबाटै उजुरी गर्न सकिने गरी क्युआरकोड तयार गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । प्रजिअ थापाले सेवाग्राहीले क्युआरकोड स्क्यान गरी गुनासो गरेपछि कार्यालयले गुनासो फछ्र्योट गर्ने बताए ।

    उनले भने, “अहिलेको सूचना प्रविधिको युगमा सूचना प्रविधिको प्रयोगमार्फत् गुनासो गर्न सक्ने व्यवस्था गरेका छौ ।” प्रजिअ थापाका अनुसार कार्यालयले तीन वटा क्युआरकोड सार्वजनिक गरेको छ । सेवाका बारेमा गुनासो गर्न, नागरिक बडापत्र र उपभोक्ता हित विपरितका कार्यका लागि उजुरी गर्न सक्ने छुट्टाछुट्टै क्युआरकोड सार्वजनिक गरिएको छ ।

    गुनासो गर्नका लागि क्युआरकोड स्क्यान गरेपछि एउटा फर्म खुल्छ । उक्त फर्ममा नाम ठेगाना, शाखा, सम्बन्धित व्यक्तिको संक्षिप्त परिचय, गुनासो भर्नुपर्नेछ । प्रजिअ थापाले अन्य कार्यालयका गुनासो भएपनि क्युआरकोडमार्फत् गुनासो गर्न सकिने प्रजिअ थापाले बताए ।

    फरक प्रसङ्गमा प्रजिअ थापाले शान्ति सुरक्षा र अमनचयन कायम गर्दै जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन आफू लागिपरेको बताए । जिल्ला अधिकारीको रुपमा तनहुँ पहिलो जिल्ला भएको बताउँदै प्रजिअ थापाले भने, “जनताको गुनासो तत्कालै सम्बोधन गरिनेछ । गुनासो नआउने गरी काम गर्न सबै कर्मचारीलाई निर्देशन दिइएको छ ।” प्रजिअ थापाले कानून कार्यान्वयन गराउने सिलसिलामा प्रतिबद्ध रहेको उल्लेख गरे ।

    कार्यालयले आँबुखैरेनी गउँपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको र क्रमशः सबै पालिकाबाट यो सेवा प्रदान गरिने प्रजिअ थापाले बताए । कार्यालयमा हालसम्म ६० हजार राष्ट्रिय परिचयपत्र आइपुगेको छ ।

    तीन हजार नागरिकता वितरण

    कार्यालयले चालु आर्थिक वर्षमा तीन हजार एक सय ४९ नागरिकता वितरण गरेको छ । एक हजार पाँच सय ४६ पुरुष र एक हजार छ सय तीन महिलालाई नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए ।

    त्यस्तै तीन हजार दुई सय ७२ प्रतिलिपि, तीन वैवाहिक अङ्गिकृत र सात गैरआवासीय नागरिकता वितरण गरिएको छ । साउनदेखि हालसम्म चार हजार ६६ जनाको राष्ट्रिय परिचयपत्रको वायोमेट्रिक, चार हजार छ सय १८ राहदानी वितरण र दुई सय ६५ नाबालक परिचयपत्र वितरण गरिएको सहायक प्रजिअ भण्डारीले बताए ।