काठमाडौ । सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने प्रमुख मार्ग त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग (मुग्लिन–काठमाडौं सडक) आजदेखी दैनिक ३ घण्टा बन्द हुने छ ।
स्तरोन्नतिसहित निर्माणाधीन अवस्थामा रहेको सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा पहाड कटान गर्नुपर्ने भएकोले नागढुङ्गदेखी मुग्लीनसम्मको सडक आजदेखी पुस १३ गते शनिवारसम्म दैनिक बिहान ११ बजेदेखी दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द गरिने भएको हो ।
नागढुङ्गा–मुग्लीन सडक आयोजनाले एक सूचना जारी गर्दै सो राजमार्गहरू भएर सङ्घीय राजधानी प्रवेशका लागी आउने र राजधानीबाट बाहिरिने सबै सवारीका साधाहरूले आफ्नो लेन अनुसारको अनुशासनमा रही सवारी चलाउन र ट्राफिक नियमको पालन गर्न सवारी चालकहरुलाई आग्रह समेत गरेको छ ।
सो समयमा अत्यावश्यक सवारीका साधनहरू बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारी र दमकल जस्ता सवारी साधनहरू भने चल्न पाउने छन् । सो राजमार्ग हुँदै दैनिक सत्र हजारको हाराहारीमा सवारीका साधनहरू गुड्ने गरेका छन् ।