दमौली । देवघाट महामहोत्सवमा १० दिनसम्म कथावाचन गरेकी चर्चित कथावाचिका देवी प्रतिभाको विदाइ गरिएको छ । देवघाट महामहोत्सवमा एक कार्यक्रमका बिचमा उनलाई विदाइ गरिएको हो । कार्यक्रममा उनले आफ्नो १० दिनको कथावाचन पूरा गरी भक्तजनहरूसँग विदा लिएकी हुन् ।
महोत्सवभरी उनले भागवत महापूराणको भावपूर्ण व्याख्या गर्दै हजारौं भक्तजनको मन जितेकी थिइन् । विदाइ समारोहका क्रममा विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयलाई विशेष रूपमा कथा मञ्चमा स्वागत गरिएको छ ।
६ वर्षको उमेरदेखि कथा वाचनमार्फत आफ्नो विशिष्ट पहिचान बनाउन सफल पाण्डेयले हिन्दू धर्मको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पुर्याउँदै अनेकौं स्थानमा कथा वाचन गरिसकेकी छिन् । सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने अनुराधा पाण्डेयले संस्कृत, हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्नसक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै स्रोताहरूलाई मन्त्रमुग्ध पार्न सफल भएकी छिन् ।
उनका कथा वाचनहरूले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप प्रगाढ बनाउँदै लाखौं भक्तजनलाई भक्तिको रसमा प्रभावित गराउने गर्छिन् । अनुराधा पाण्डेयको कथा वाचन देवघाट महामहोत्सवका प्रमुख आकर्षण मानिएको छ। माघ १० गते दिउँसो ३ बजेबाट सुरु भएको उनका प्रवचन सात दिनसम्म चल्नेछन् । आयोजकका अनुसार कथा वाचनका लागि तयार पारिएको विशेष पण्डालमा हजारौं भक्तजनको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
६ वर्षकै उमेरमा धार्मिक कथा वाचन सुरु गरेकी पाण्डेयको यात्रा अद्वितीय छ । विभिन्न धार्मिक महोत्सव र कार्यक्रमहरूमा कथा वाचन गर्दै उनले धर्म, संस्कृति र परम्पराको संवद्र्धनमा विशेष योगदान पुर्याएकी छिन् । उनको विशिष्टता भनेको सानै उमेरमा तीन भाषामा धाराप्रवाह कथा वाचन गर्ने क्षमता हो । उनले केवल कथा सुन्ने मात्र होइन, धार्मिक र आध्यात्मिक चेतनाको गहिराइमा प्रवेश गराउने अद्वितीय शैली प्रस्तुत गर्छिन् । आयोजकहरूले यो कथा वाचनले समाजमा धार्मिक ज्ञानको विस्तार गर्ने र भक्ति मार्गप्रति सबैको आस्था बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।